दशैं तिहारको लागि १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको रक्सी आयात




काठमाडौं । नेपालीको ठूला पर्वहरु दशैं र तिहारको मुखमा मात्रै १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको छ ।

यसबर्षको दशैं र तिहारलाई लक्षित गर्दै सो परिमाणमा रक्सी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

विभागका अनुसार गत साउन, भदौ र असोज महिनामा गरी १ अर्ब ६२ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको छ ।

दशैं र तिहारको लागि आवश्यक पर्ने रक्सी साउन महिनादेखि दशैं अगाडिसम्म आयात हुने गरेको आयातकर्ताहरु बताउँछन् ।

असोज महिनामा ९८ करोड ८ लाख ४३ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तु आयात भएको छ । यस्तै भदौ महिनामा भने ४२ करोड २ लाख ३८ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको छ ।

साउन महिनामा भने रक्सी आयात भदौ र असोज महिनाको तुलनामा केही कमी देखिएको छ । विभागका अनुसार गत साउन महिनामा २१ करोड ९६ लाख ८३ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड ९ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको रक्सी आयात भएको थियो ।

आर्थिक वर्ष २०७३÷७४ सालमा ४ अर्ब ३६ करोड १४ लाख १६ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको थियो । सो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा रक्सी आयात केही कम भएको तथ्यांकले देखाएको छ ।

नेपालमा १४ देशहरुबाट वियर आयात हुने गरेको छ भने अन्य प्रकारका मदिरा ३६ वटा देशहरुबाट आयात हुने गरेको छ ।

नेपालमा बियर मात्र अष्ट्रेलिया, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका देशहरुबाट आयात हुने गर्छ ।

अन्य प्रकारका मदिराहरु अष्ट्रेलिया, साउथ अफ्रिका, क्यानडा, चीन, इटाली, जापान, चिली, पर्चुगल, ताइवान, स्पेन, दक्षिण कोरिया, अष्ट्रिया, पोल्याण्ड, नामिबिया, बेलायत, रसिया, स्यूडेन, ब्राजिल, क्यूबा, सिङगापुर, टर्की, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका मुलुकहरुबाट आयात हुने गरेको विभागको भनाई छ ।


क्लिकमान्डु