सिआइटीमा अनौठो क्रमभंगः उपसचिबले सपथ खुवाएका अध्यक्ष रहने कमिटीमा सहसचिब सदस्य




काठमाडौं । नागरिक लगानी कोष (सिआइटी) मा अनौठो क्रमभंग भएको छ । उपसचिब तह बराबरको कर्मचारीले सपथ खुवाएको अध्यक्ष रहेको संचालक समितिमा अर्थमन्त्रालयका बरिष्ठ सहसचिब सदस्य रहेका छन् ।

गत शुक्रबार कोषका संचालक सदस्य तथा अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइ डा. रामशरण खरेलले कोष संचालक समितिको अध्यक्षमा नियुक्त डा. रामचन्द्र भट्टराईलाई सपथ खुवाएका छन् । कोषको संचालक समितिमा अर्थमन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिब चन्द्रकला पौडेल पनि सदस्य छन् ।

यसअघि कोषको संचालक समिति अध्यक्षलाई अर्थमन्त्रालयका प्रतिनिधिले सपथ खुवाउने चलन रहेको कोष स्रोतले जानकारी दियो । अर्थमन्त्रीका ज्वाइ डा. खरेल नेपाल राष्ट्र बैंकको निर्देशकमा गत चैत अन्तिम साता मात्रै फाइल बढुवा भएका ब्यक्ति हुन् । राष्ट्र बैंकको निर्देशक पदलाई निजामति सेवाको उपसचिब सरह मानिन्छ ।

राष्ट्र बैंकको निर्देशकमा सो समय ७ जनालाई फाइल बढुवा गरिएको थियो । यसरी बढुवा गर्ने कर्मचारीमा डा. खरेल ३२ औं नम्बरमा थिए । डा. खतिवडा अर्थमन्त्री हुने वित्तिकै आफ्ना ज्वाइ डा. खरेललाई सहयोगीका रुपमा अर्थमन्त्रालय बोलाएका थिए । अर्थमन्त्रीको सहयोगीको रुपमा अर्थमन्त्रालय आएपछि डा. खरेलले आफ्ना ससुरा प्रयोग गर्दै राष्ट्र बैंक संचालक समितिलाई प्रभावमा पारेर बरिष्ठहरुलाई पाखा लगाउँदै निर्देशक पदमा बढुवा भएका थिए ।

अर्थमन्त्रीले ज्वाइलाई अर्थमन्त्रालय बोलाउदाको प्रसंग यस्तो थियो ।

अर्थमन्त्री हुनेवित्तिकै गभर्नरलाई खतिवडाको पत्रः मेरा ज्वाइलाई आजैदेखि मन्त्रालय पठाउनु

‘अर्थमन्त्रालयका सहसचिब संयोजक भएको कमिटिमा हाम्रा निर्देशकहरु सदस्य हुन्छन्, मन्त्रालयका सहसचिब राष्ट्र बैंकका निर्देशकभन्दा माथिल्लो तहका मान्ने गरिएको छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने ।

डा. खरेललाई कोषको संचालकमा नियुक्ति पनि निमय मिचेर गरिएको थियो ।

यो पनि हेर्नुस् ।

अर्थमन्त्रीका ज्वाइलाई नियम मिचेर नागरिक लगानी कोषको संचालक बनाइयो

सिआइटीका पूर्वअध्यक्षहरुले पनि राष्ट्र बैंकका निर्देशकले संचालक समिति अध्यक्षलाई सपथ खुवाउने र अर्थमन्त्रालयका सहसचिब ताली बजार बस्ने अनौठो चलन देखिएको बताए ।

‘रामशरणजी अर्थमन्त्रीको ज्वाइ हुनुभएकै कारणले सिनियर हुनु भएको हो भने त बेग्लै कुरा हो, होइन भने उपसचिब तह सरहको कर्मचारीले सपथ खुवाएको अध्यक्ष हुने कमिटिमा सहसचिब सदस्य हुन नैतिक हिसाबले पनि नमिल्नु पर्ने हो,’ सिआइटीका एक पूर्व अध्यक्षले भने ।

यसअघि अर्थमन्त्रालयबाट संचालकमा प्रतिनिधित्व गर्ने सहसचिबले अध्यक्षलाई सपथ खुवाउने चलन रहेको उनले बताए । नागरिक लगानी कोष ऐनमा अध्यक्षलाई सपथ खुवाउने र कसले खुवाउने भन्ने सम्बन्धमा प्रष्ट ब्यवस्था भने छैन ।


क्लिकमान्डु