बीमा कम्पनीका सेयरधनी र बिमितमध्ये कसलाई बढी फाइदा ? कसरी तय हुन्छ बोनस दर ?




काठमाडौं । नेपालमा अझै पनि बीमाको बारेमा जानकारी कम छ भन्ने गरिन्छ । तर, नबुझेकोले भन्दा पनि बुझेकैले बीमा नगरेको कारण यसको दायरा कम भएको भन्ने आवाज पनि नसुनिएको होइन ।

बीमाको दायरा अहिले ११ प्रतिशतको हाराहारीमा पुगेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीबाट सेयरधनीले नाफाको रुपमा प्रतिफल पाउँछन् भने बिमितले बोनसको रुपमा प्रतिफल पाउँछन् । सेयरधनी र बिमितमध्ये कसले बढी प्रतिफल पाउँछन् भन्ने प्रश्न पनि बेलाबेलामा उठ्ने गरेको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले गरेको ब्यवस्था अनुसार कम्पनीका सेयरधनीले भन्दा विमितले बढी प्रतिफल पाउने गरेका छन् । यो ब्यवस्था जीबन बीमा कम्पनीहरुको हकमा मात्रै हो ।

जीबन बीमा कम्पनीहरुले कमाएको नाफाबाट ९० प्रतिशत प्रतिफल बिमितले र १० प्रतिशत प्रतिफल विमितले पाउने समितिका उपनिर्देशक दिनेश कुमार लाल बताउँछन् ।

‘जीबन बीमा कम्पनीले कमाएको नाफाको ९० प्रतिशत रकम जीबन बीमा कोषमा जान्छ, यो कोषको रकम बिमितले नै पाउने हो, बाँकी रहेको १० प्रतिशत रकम मात्रै सेयरधनीले पाउने हो,’ उपनिर्देशक लाल भन्छन् ।

जीबन बीमामा बिमितले बोनस दरको माध्यमबाट प्रतिफल पाएका हुन्छन् ।

कसरी तय हुन्छ बीमा दर ?
बीमा कम्पनीको पहिलो काम भनेको सर्बसाधारणको बीमा गराउनु नै हो । यसरी बीमा गराउँदा कम्पनीहरुले विमितसँग बीमा शुल्कको रुपमा पैसा लिन्छन् । कम्पनीहरुको आम्दानीको मुख्य स्रोत यही नै हो ।

यसबाहेक बीमा कम्पनीहरुसँग भएको रकम विभिन्न क्षेत्रमा लगानी गर्ने गरिएको हुन्छ । बीमा कम्पनीहरुले जलविद्युत, सेयर, डिभेन्चर, बन्ड, बैंकमा निक्षेप जस्ता क्षेत्रमा लगानी गरेर आम्दानी गरिरहेका हुन्छन् ।

बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई तलब दिनुपर्छ । घरभाडा लगायतका विषयमा कार्यालय संचालनको खर्च पनि हुन्छ । यस्तै विमितको दाबी भुक्तानी दिनुपर्ने अबस्थामा दिनुनै पर्यो ।

यी सबै क्षेत्रबाट प्राप्त भएको आम्दानीबाट आवश्यक सबै क्षेत्रमा गरिएको खर्च कटाएर बाँकी रहेको रकमबाट जीबन बीमा कोष र सेयरधनीलाई बोनस वितरण गर्ने हो । यस्तो कार्य विमांकीले गर्छ ।

आम्दानीबाट खर्च भएर बाँकी रहेको रकमबाट बिमितलाई दिने बोनस दायित्व वापतको रकम, भविष्यमा आइपर्ने दायित्वको लागि रकम, भैपरी आउने दायित्वको लागि रकम, विमांकी रिजर्भ र बाँडफाँड नगरिएको कोषको लागि रकमको ब्यवस्था गरिन्छ । यति गरेपछि बाँकी रहेको रकमबाट ९० प्रतिशत विमितलाई बोनस र १० प्रतिशत सेयरधनीलाई बोनस दिइने उपनिर्देशक लाल बताउँछन् ।


क्लिकमान्डु