सन् २०२० देखि इपीएस परीक्षा अनलाइनबाटै



काठमाडौं । सन् २०२० देखि कोरियामा रोजगारका लागि इपीएसको परीक्षा अनलाइनबाटै दिन पाइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार अनुमती प्रणाली (इपीएस) को परीक्षा अनलाइन सिस्टम मार्फत गराउने तयारीमा रहेको इपीएस शाखाका प्रवक्ता सोभाकर पराजुलीले बताए ।

उनका अनुसार हाल कागजमा दिइने इपीएसको परिक्षा २०२० बाट अनलाइबाटै दिन पाइने छ ।

‘अनलाईन भनेर घरमै बसेर दिन मिल्ने भने हैन, हामीले परीक्षा सेन्टर तोकिदिएका हुन्छौँ, त्यहाँ सबैका लागि कम्प्यूटरको व्यवस्था गरिन्छ र छुट्टा छुट्टै कम्प्यूटरबाट अनलाइन मै परीक्षा दिनुपर्ने हुन्छ,’ पराजुलीले भने ।

उनले हाल फारम भर्ने तरिकालाई अनलाईन सिस्टममा परिणत गरिएकोले अब २०२० देखि अनलाइनबाटै इपीएस परीक्षा दिने व्यवस्था लागु हुने दाबी गरे ।
यस्तै, यही विहिबार असोज ४ गते नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत श्रमिक लैजाने सम्झौता थप २ वर्षका लागि नविकरण भएको छ ।

गत वर्ष २०१७ असोज ४ गते यो सम्झौता भएको थियो । नेपाल र कोरियाबीच श्रम सम्झौता प्रत्येक २÷२ वर्षमा हुने गरेको छ ।

दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नविकरण गर्ने सम्बन्धी समझदारी पत्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार २००८ देखि इपीएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका हुन् ।

यस प्रणालीबाट अहिलेसम्म ५४ हजार ३ सय ६३ नेपाली श्रमिक दक्षिण कोरिया गएका छन् । जसमध्ये ५१ हजार २५ जना पुरुष र ३ हजार ३ सय ३८ जना महिला रहेका छन् । हाल दक्षिण कोरियामा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेको इपीएस शाखाले जानकारी दिएको छ ।

इपीएस मार्फत कोरिया जानेको संख्या प्रत्येक दिन बढ्ने क्रममा रहेको छ । कोरियामा आकर्षक तलब सुविधाका कारण नेपाली श्रमिकको रोजाइको पहिलो गन्तव्य कोरिया बन्दै आएको छ ।

कोरियामा नेपाली श्रमिकको तलब मासिक १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँ रहेको छ । दक्षिण कोरियाले इपीएस प्रणाली मार्फत नेपाल सहित १३ राष्ट्रबाट प्रत्येक वर्ष ५० हजारको हाराहारीमा श्रमिक लाने गरेको छ ।


क्लिकमान्डु