यूनियन लाइफ दोश्रो वर्षमा प्रवेश, के छन् आगामी योजना ?



काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको २०७५ असोज ४ गते एक बर्ष पूरा भएको छ ।

कम्पनीले सफलतापूर्वक एक बर्ष पूरा गरेको अवसरमा प्रथम बार्षिकोत्सब मनाउन लागेको जनाएको छ ।

नयाँ कम्पनी लिएर बीमा बजारमा प्रबेश गर्दा ब्यापक चुनौती भएपनि प्रष्ट लक्ष्य र ब्यवस्थित योजनाका साथ कार्य गरेको परिणाम कम्पनीले प्रगती हासिल गर्न सफल भएको बिज्ञप्ति मार्फत जनाएको छ ।

गत आव २०७४\७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बीमाशुल्क संकलन गरेको थियो भने आ.व. २०७५\७६ को श्रावण र भाद्र महिनामा करिब २२ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

हाल सम्म कम्पनीले जारी गरेको बीमालेख संख्या करिब ८२ हजार भन्दा बढि रहेको छ । कम्पनीले गत बर्षको बीमा ब्यवसायबाट १० करोड ७७ लाख नाफा गर्न सफल भएको छ । आ.व. २०७४\७५ मा कम्पनीको जीवन बीमा कोष ३७.३० करोड रुपैँया रहेको छ ।

नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भएकाहरु मध्ये ७५ भन्दा बढि शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा आईसकेका छन् थप कार्यालयहरु क्रमिक रुपमा संचालनमा आउने क्रममा रहेको बताइएको छ ।

२ अर्ब १५ करोड जारी पूँजी रहेको यस कम्पनीका १० प्रकारका बीमा योजनाहरु रहेका छन् । जसमा सिमित भुक्तानी सावधिक जीवन बीमा योजना, अग्रिम भुक्तानी तथा आजिवन जीवन बीमा योजना, बाल (सावधिक) जीवन बीमा योजना, सावधिक तथा आजिवन जीवन बीमा योजना रहेका छन् ।

त्यसैगरी, सावधिक जीवन बीमा योजना, सिमित भुक्तानी (सावधिक तथा आजीवन) जीवन बीमा योजना, बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना, सामूहिक म्यादी जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार म्यादी जीवन बीमा योजनाहरु रहेका छन् ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लालकर्ण रहेका छन् भने कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।


क्लिकमान्डु