सेयर बजार अस्थिर, लगानीकर्ताको त्रास अब कहिले हट्ला ?



काठमाडौं । अहिले सेयर बजारमा स्थिरता देखिएको छैन । केही दिन अघि मात्रै अर्बको नजिक पुगेको सेयर कारोबार भोलिपल्टै घट्न पुग्यो । विभिन्न कम्पनीले आफ्नो बोनश तथा नगद लाभांश घोषणा गरिरहेका छन् । यस्तो आवस्थामा समेत सेयर बजारले एउटा गति पकड्न नसकेकोमा लगानीकर्ताले गुनासो गरेका छन् ।

सेयर बजारमा स्थिरता नभई हलचल भइरहँदा लगानीकर्ता भने त्रासमा रहेको पाइएको छ । आखिर किन सेयर बजार अस्थिर भएको हो त ? आज हामीले केही लगानीकर्ताको धारणा जान्ने प्रयास गरेका छौं ।

एशियन सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ता माधव खनालका अनुसार सेयर बजार अहिले अस्थिर अवस्थामा रहनुमा केही कारणहरु छन् । खनालका अनुसार–‘सेयर बजार अहिले अस्थिरताको अवस्थामा छ, विभिन्न कम्पनीको बोनश सेयर तथा नगद लाभांश घोषणा हुँदै गरेकाले यसको असर सिधै बजारमा परेको हो । ’ उनले तत्काल बजार घटेर तलै पुग्ने अवस्था नरहेको भएपनि बजारमा अस्थिरता भने पक्कै रहेको बताए ।

आशा गरेको भन्दा केही बढी बोनश सेयर पाउँदा बजारमा वृद्धि हुने र आशा गरे भन्दा कम बोनश सेयर पाउँदा बजार घट्ने गरेको उनको बुझाई रहेको छ ।

केही समय अघि बजार घटेकाले नै त्यसको धङ्धङ्ीबाट लगानीकर्ता तत्काल मुक्त नभईसकेको उनको बुझाई रहेको छ । यसरी बजार फेरी घट्ने हो की भन्ने मानसिकताले लगानीकर्तालाई मिनेट मिनेटमा पिरोल्ने गरेको उनले बताए । तर बजार घट्नु वा बढ्नु एउटा प्रक्रिया कै रुपमा लिनु पर्ने उनले बताए । अहिले बजार ओर्लिने समय होइन, तरपनि बजारले अस्थिर संकेत देखाई रहेको उनले बताए । आगामी दिनमा अनलाईन ट्रेडिङले केही राहत दिने उनको भनाई छ ।

अहिलेको बजार कम पूँजी भएका लगानीकर्ताबाट नै धानिएको सबैले जान्दै बुझ्दै आएको कुरा हो । भोलिका दिनमा ठूला पूँजी भएका लगानीकर्ता समेत बजारमा प्रवेश गर्दा फेरी बजारमा परिवर्तन आउँछ । अहिले बैंकको ब्याज नै कारण बनिरहेको छ ।

मल्ल एण्ड मल्ल सेक्यूरिटिजमा भेटिएकी लगानीकर्ता प्रेरणा श्रेष्ठले स्थिर सरकार आएपछि सेयर बजारमा देखिने प्रतिफलको आशा मर्दै गएको बताइन् । उनले भनिन्–भाउँ खस्कदै जाँदा सेयर लगानीकर्ताले आफ्नो लगानी टिकाइरहन गाह्रो भइरहेको छ ।

सेयर बजारमा लगानी डुब्यो भने थोरै पूँजी लगानी गर्ने लगानीकर्ताले कारोबारमा सहभागी हुन सक्दैनन् । कतिपय लगानीकर्ताले ऋण समेत लिएर बजार प्रवेश गर्ने बताउँदै सरकारी तर्फबाट समेत बजार मैत्री कदम चाल्नु पर्ने उनले बताइन् ।

त्रिशुल सेक्यूरिटिजमा भेटिएका एक सेयर लगानीकर्ता नृगेश श्रेष्ठले बजारले अनिश्चित गति देखाउनु नै लगानीकर्ताको चासो र चिन्ताको विषय भएको बताए । श्रेष्ठ भन्छन्–‘बजारमा अनिश्चितता देखा पर्नाले नै लगानीकर्तालाई असहज भइरहेको छ, लगानी गर्नपनि डरै छ नगर्दापनि सुख छैन ।’

अनामनगरको दिपशिखा सेक्यूरिटिजमा भेटिएका एक सेयर लगानीकर्ता सन्तोषप्रसाद भट्टले नीतिगत रुपमा गएर सेयर लगानीकर्तामा आत्मविश्वास कायम गर्न सकिने बताए । भट्टका अनुसार–‘सेयर बजारको क्षेत्रमा लगानीकर्ताको आत्मविश्वास जगाउन नीतिगत रुपमा नै अघि बढ्दा हुन्छ, तरलताका विषय त्यति ठीक छैन भन्दा हुन्छ ।’

अहिले कम्पानीले धमाधम नगद लाभांश घोषणा गरिरहेका छन् । यो बोनस खाने बेला हो । अहिले लगानीकर्ताले बजारप्रति पूर्ण सकारात्मक हुन पर्ने बेला हो । तर, त्यसो भइरहेको छैन । लगानीकर्ताको त्रास अर्ब नजिक पुगेको कारोबार भोलि पल्ट खस्किदा वास्तव मै अवस्था पहिल्याउन गाह्रो छ ।

नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले लगानीकर्तालाई सहज बनाउन तालिमको समेत थालनी गरेको अवस्था छ । आगामी दिनमा विभिन्न स्थानमा रहेका लगानीकर्तामा सेयरमा लगानी गर्नुको महत्व तथा त्यसको आवश्यक ज्ञानको प्रवाह भएमा वास्तवमा लगानीकर्तामा भएको त्रास कम हुँदै जान्छ । यसरी त्रास कम हुने किसिमको वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउँछन् लगानीकर्ताहरु ।


क्लिकमान्डु