जनता अवकाश कोषले १ प्रतिशत नाफा वितरण गर्ने




काठमाडौं । जनता अवकाश कोषको कोष संचालक समिति बैठकले कोषको आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

कोषले आर्थिक बर्ष २०७४/७५ नाफाबाट कोषमा सहभागी बचतकर्ता/संचयकर्ताहरुलाई उनीहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १ प्रतिशतका दरले नाफा वितरण गर्ने निणर्य गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा असोज १ गते जम्मा गरेको छ कोषले जानकारी दिएको छ ।

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा गत असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ ।

कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको कोषको भनाइ छ ।

जनता अवकाश कोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचित विदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आयभएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९० प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्याहार खर्च १० हजार रुपैयाँ र काजक्रिया खर्च पनि १० हजार रुपैयाँकै व्यवस्था गरेको जानकारी दिएको छ ।

जनता अवकाश कोषका सहभागीहरुले जनता बैंकका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत कोषको सेवा प्राप्तगर्न सक्ने कोषको भनाइ छ ।


क्लिकमान्डु