के पूरक बजेट ल्याउँदैछ त सरकार ? वृद्धभत्ता बढाउने तयारी



काठमाडौं । चालु आर्थिक वर्षको बजेटका कारण दुईतिहाई प्राप्त सरकारले जनस्तरमा कुनै पनि प्रभाव छाड्न नसकेको भन्दै चर्को आलोचना भएपछि सरकार पुनः पूरक बजेटको तयारीमा लागेको छ ।

बजेट निर्माणको अख्तियारी पाएको अर्थमन्त्रालयका कुनै पनि अधिकारीले यस बारेमा केही पनि नबताएपनि उच्च राजनीतिक तहमा भने पूरक बजेटको विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते संघीय संस्मा पेश गरेको बजेटलाई पूर्व अर्थमन्त्री डा रामशरण महतको भन्दा झुर बजेट भन्दै सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले नै चर्को विरोध गरेका थिए ।

पछिल्लो पटक नेकपाभित्र पूरक बजेटको विषयमा उल्लेख्य चर्चा तथा परिचर्चा सुरु भएको छ । विशेष गरी प्रधानमन्त्री एव्म नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पूरक बजेट ल्याउने तयारीमा लागेका छन् ।

शनिबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा समेत नेकपाका अध्यक्ष प्रचण्डले पूरुक बजेट ल्याएर जनताको माग सम्बोधन गरिने बताएका थिए ।

उनले वृद्ध भक्तालगायतका विषयलाई पूरक बजेटले सम्बोधन गर्ने बताए । दुइृ तिहाई प्राप्त सरकारको जस्तो बजेट नआएका कारण नागरिकमा निराशाको मात्रा बढेकाले त्यसलाई सम्बोधन गर्न पूरक बजेटको तयारीमा लागेको बताए ।

निर्वाचनको समयमा वृद्ध वृद्धालाई मासिक ५ हजार रुपैयाँ वृद्ध भत्ता दिने भन्दै भोट मागेका नेकपाले बजेटमा भने त्यस्तो कुनै पनि व्यवस्था नगरेको भन्दै वृद्ध वृद्धाले समेत आक्रोश पोखेका थिए ।

तर सरकारले चालु आवको बजेटमा १ लाखसम्मको बीमा निशुल्क गर्ने कार्यक्रम राखेको थियो ।

नागरिकको तहमा आएका सुझावलाई सम्बोधन गर्न पनि पूरक बजेटको जरुरी परेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

गत मंगलबार प्रचण्डले आफ्नै निवाुस खुमलटारमा समेत पत्रकार सम्मेलनको आयोजना गरेर पूरक बजेटको तयारीमा सरकार लागेको बताएका थिए ।

सरकारको कार्यशैली सुधार गर्न पनि जरुरी रहेको भन्दै उनले पूरक बजेट नै समस्याको समाधानको प्रमुख सुत्र रहेको बताएका थिए । दुई तिहाई प्राप्त सरकार विगतको गठबन्धन सरकार जस्तो भएको, कुनै पनि काम गर्न नसकेको तथा सामान्य भन्दा सामान्य विवादमा फसेको छ ।

नयाँ दिल्लीमा प्रचण्डले भने सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन हामी सबैले प्रयास गरेका छौ, त्यो प्रक्रिया अब छिट्टै अगाडि बढ्छ ।

उनले नेपाली समुदायको सँगको अन्तरक्रियामा भने अब केही दिन पछि बस्ने नेकपाको सचिवालय र स्थायी समितिको बैठकले पार्टी एकताको सम्पूर्ण प्रक्रिया र सरकारको काम कारवाहीका विषयमा महत्वपूर्ण निर्णय लिने छ ।


पुष्प दुलाल