गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अभियान- ‘दश वर्षमा दश हजार युवा उद्यमी’




काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा दश हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले युवा उद्यमीको समूह निर्माण गरी उनीहरु र लगानीकर्ताबीच प्रतिष्ठानले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जानकारी दिए । “प्रतिष्ठानले युवा उद्यमी र देशका प्रतिष्ठित व्यवसायीबीच नियमित अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नेछ,” उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि युवा शक्तिको ठूलो भूमिका रहेको उल्लेख गरे । “नेपालको दिगो आर्थिक विकास पूरा गर्न युवा जनशक्ति लाग्नुपर्छ,” उनले भने ।

वरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्यले गणेशमान सिंह प्रतिष्ठानले देशको राजनीतिसँगै आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

गणेशमान सिंह जीवित हुँदा नै स्थापना गरिएको प्रतिष्ठानले सिंहको चिन्तनलाई नेपाली समाजको आधारभूत तहसम्म पु¥याउनाका साथै मुलुकको विकासका लागि विभिन्न कार्य गर्दै आइरहेको प्रतिष्ठानका महासचिव रेनुका जोशीले जानकारी दिए ।

प्रतिष्ठानले आगामी दिनमा लोकतान्त्रिक प्रणालीको सबलीकरण, सामाजिक रुपान्तरण र सामाजिक सद्भावको उत्कृष्टता, सुशासन र भ्रष्टाचारमा निरन्तर आवाज उठाउने प्रतिष्ठानका सचिव डा भुपेन्द्र बस्नेतले जानकारी दिए ।

यस्तै प्रतिष्ठानले चौमासिक पत्रिका प्रकाशन गर्नाका साथै विभिन्न देशका कूटनीतिज्ञसँग छलफल तथा अन्तक्र्रिया गर्नेछ । १६औँ साधारणसभाका अवसरमा प्रतिष्ठानले वरिष्ठ राजनीतिज्ञ बेखारत्न शाक्य र शिक्षाविद् डा केदारभक्त माथेमालाई सम्मान गरिएको थियो ।


क्लिकमान्डु