चीनले सबै बन्दरगाह दिन्छु भन्दा ३/४ वटामा किन अल्झिरहेको छ नेपाल सरकार ?




काठमाडौं । चीन सरकारको ९ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल सरकारसँग ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकलको बिषयमा छलफल गर्न काठमाडौं आइपुगेको छ ।

चिनियाँ पक्षसँग नेपाली अधिकारीले गर्न लागेको यो तेस्रो वार्ता हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा सो सम्झौतामा हस्ताक्षर हुने भनिए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणपछि नेपाल फर्केर एक महिनाभित्रमा चीनसँगको सो प्रोटोकलमा हस्ताक्षर हुने बताएका थिए । अहिले नेपाल र चीनका अधिकारीहरुले गर्न लागेको वार्ता सोही बिषयमा हो ।

सो प्रोटोकलका विषयमा भदौ २० र २१ गते चिनियाँ अधिकारीहरुसँग वार्ता हुन लागेको बाणिज्य मन्त्रालयका सहसचिब रविशंकर सैजुले जानकारी दिए ।

नेपालले चीन तथा तेस्रो मुलुकबाट आयात गरेका बस्तुहरु समुन्द्रको बाटो हुदै चीनबाट नेपाल भित्र्याउनको लागि यस्तो सम्झौता गर्न लागेको हो । चिनियाँ बाटो हुदै नेपालमा खासगरी जापान र कोरियाबाट नेपाल आयात गरिने बस्तुहरु आउने अपेक्षा नेपाली अधिकारीको छ ।

नेपालले चाइनिज सीको नर्थ एण्ड इष्टर्न पोर्ट (उत्तरी र पूर्वी बन्दरगाह) बाट सामान आयातको अनुमति माग्न लागेको सहसचिब सैजुले बताए । नेपालले माग्न लागेको बन्दरगाह नेपाली भूमिबाट ४ हजारदेखि ४५ सय किलोमिटरको दुरीमा पर्छन् ।

‘हामीले चाइनिज सीका नर्थ इष्टर्नका ३/४ वटा पोर्ट माग्न लागेका हौं, त्यहाँबाट चीनको सिगात्सेसम्म रेल नै आएको छ, यसरी सामान ल्याउदा भारतीय बाटोकोभन्दा छिटो आइपुग्ने देखिएको छ,’ सैजुले क्लिकमाण्डूसँग भने ।

अहिले नेपालले विदेशबाट आयात गर्ने बस्तु सामुन्द्रिक बाटो भएर नेपाल आउँदा भारतको विशाखापटनम बन्दरगाह भएर आउने गरेको छ । विशाखापटनमदेखि रक्सौलसम्म सामान ल्याइपुर्याउन विभिन्न प्रकारका प्रक्रियागत झन्झट ब्यहोर्नु परेको छ ।

चिनीयाँ बाटो भएर नेपाल आउने बस्तुमा प्रक्रियागत झन्झट कम गर्न के कस्तो प्रक्रिया अपनाइन्छ भन्ने कुरा भने नेपाली पक्षले खुलाएको छैन ।

‘हामी वार्तामा बस्दैछौं, त्यहाँ सबै विषयमा कुरा हुन्छ, त्यसपछि केही बताउन सकिएला,’ सहसचिब सैजु भन्छन् ।

नेपाल सरकारले बन्दरगाहको संख्या तोकेर वार्ता गर्ने बिषयप्रति अन्तराष्ट्रिय ब्यापार विज्ञले असहमति जनाएका छन् । भारतको कलकत्ता बन्दरगाह भएर नेपाल आउने बस्तुमा चीनले सबै बन्दरवाह प्रयोग गर्न दिइरहेको समयमा चीनकै बाटो भएर नेपाल आउने बस्तुको लागि बन्दरगाहको संख्या तोकिनु उपयुक्त नहुने उनीहरुको भनाइ छ ।

‘यहाँ त आफूले जानेको, सिकेको र बुझेको विद्या अनुसार कुरा गर्यो भने पनि समृद्धि विरोधी भन्न थाले, चीनले अहिले नै जुनसुकै बन्दरगाह पनि प्रयोग गर्न दिइरहेको सन्दर्भमा अब सम्झौता नै हुने बेलामा यतिवटा मात्रै देउ भनेर सीमा तोक्नुको अर्थ मैले बुझिरहेको छैन,’ अन्तराष्ट्रिय ब्यापारबारे जानकार एक विज्ञले भने ।

उनले चीनसँग पारवाहन सुविधा दिने गरी सम्झौता गर्ने र त्यससँगै नेपालसँग सीमा जोडिएको स्थानमा एकिकृत भन्सार जाँचपास केन्द्र (आइसीटी) स्थापना गर्ने कुरामा वार्ता केन्द्रीत हुनुपर्ने बताए ।

‘सिगात्सेमा हुन्छ कि, खासामा हुन्छ कि वा अन्य कुनै उपयुक्त स्थानमा हुन्छ, त्यहाँ आइसीटी स्थापना गर्ने, चीनले आफ्नो भूमिसम्म नेपाली सामान ल्याइदिने र हामीले हाम्रो भन्सार कार्यालय भएको ठाउँबाट सामान भित्र्याउने गरी वार्ता गर्नु बुद्धीमानी हुने देखिन्छ,’ उनले थपे ।

यता भारतले अहिलेसम्म नेपाललाई कलकत्ताको विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिइरहेको छ । २०७२ साल असोजदेखि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाए पछि नेपालको अन्तराष्ट्रिय ब्यापारको नाका खोल्न भन्दै चीनसँग पारवाहन सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।

अहिले भारतले धाम्रा र मुन्द्रा बन्दरगाह पनि नेपाललाई प्रयोग गर्न दिने बताइरहेको छ ।


क्लिकमान्डु