संघियतालाई खतरामा पार्ने गरेर करको विरोध भयोः अर्थमन्त्री खतिवडा



। अर्थमन्त्री डा युवराज खतिवडाले मोरङको सुन्दरहैचा नगरपालिका–१० स्थित विराटचोकमा करदाता सेवा कार्यालयको उद्घाटन गरेका छन् ।

पूर्वी मोरङका उद्योगी व्यावसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरबाट हुने सेवा सहजरुपमा प्रदान गर्न विराटचोकमा करदाता सेवा कार्यालयको स्थापना गरिएको हो । करदाता कार्यालय स्थापनापछि पूर्वी मोरङका करीब ३८ हजार करदाता प्रत्यक्ष लाभान्वित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा खतिवडाले सङ्घीयता नै खतरामा पार्ने गरी करको विरोध भएको बताए । सरकारले दोहोरो कर कतै नलिएको बताउँदै मन्त्री खतिवडाले जनतालाई असर पर्ने खालको कर नबढाउनसमेत स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, युवा उद्यमी भोलेश्वर दुलाल, सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंलगायतले यहाँ स्थापना भएको सेवा कार्यालयबाट स्थानीय करदाताहरु लाभान्वित हुने बताए ।

यसैबीच अर्थमन्त्री डा खतिवडाले आजै झापाको दमकस्थित आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरे । करदाता सेवा कार्यालयबाट चालू आर्थिक वर्षदेखि स्तरोन्नति भएको सो कार्यालयको झापाको कन्काई पश्चिमी क्षेत्रका शिवसताक्षी, गौरादह, दमक नगरपालिका तथा कमल र गौरीगञ्जका करदाताहरुलाई सेवा पुर्याउदै आएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले काठमाडौँबाहिर एकै जिल्लामा दुई आन्तरिक राजश्व कार्यालय झापामा मात्र रहेको जानकारी दिए । सो अवसरमा राजस्व सचिव शिशिरकुमार ढुङ्गाना, आन्तरिक राजश्व विभागका महानिर्देशक बिष्णुप्रसाद नेपाल, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायत सहभागी थिए ।

सो अवसरमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकाल, उद्योग वाणिज्य सङ्घ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्कालगायतका वक्ताले व्यावसायिक क्षेत्रमा रहेका समस्या समाधान गर्न अर्थमन्त्रीलाई आग्रह गरेका थिए । रासस


क्लिकमान्डु