आइमार्स् ब्राण्डका मोबाइल नेपालमा ओपलले बेच्ने, ब्राण्ड एम्बेस्डर अनमोल केसी




काठमाडौं । ओपल मल्टिनेशनलको आधिकारिक बितरण मार्फत नेपाली बजारमा आउन लागेको आइमार्स् मोबाइल्सले आप्mनो ब्राण्ड एम्बेस्डरको रुपमा लोकप्रिय अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ । आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा ल्याउन लागेको ओपल मल्टिनेसनले केसीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।

आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज भए तापनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्र लन्च गर्न लागेको कम्पनीले जानकारी दिएको छ । यस अन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् भने स्मार्ट फोनका ४ मोडलमध्ये एक कम्पनीको फ्याग्शीप मोडल पनि रहेको छ ।

ती नयाँ आकर्षक फोनहरु कम्पनीले आउने केही हप्तामै लन्च गर्न लागेको छ भने त्यसको केही समयपछि फेरि दुई नयाँ मोडलहरु लन्च गर्ने योजना बनाएको कम्पनीले जानकारी दियो ।

नेपाली बजारमा आउने आइमार्स स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोर–जी टेक्नोलोजी तथा ‘भोल्टे’ टेक्नोलोजी रहेको छ । ३ वटा मोडलमा सीडएएमए नेटवर्क क्षमता पनि रहेको बताइएको छ ।

भविष्यमा कम्पनीले आफ्नाे अन्य प्रोडक्टहरु जस्तै ल्यापटप, टेलिभिजन, तथा अन्य एक्सेसरिज पनि नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।

सुपथ मूल्यका फिचर फोनदेखि विशिष्ट फ्याग्शीप मोडल समेत प्रस्तुत गरेको आइमार्स् आफ्नो वृहत रेन्जका प्रोडक्ट्हरुका कारण दक्षिण एसियाली बजारको लागि एक उपयुक्त ब्राण्ड भएको कम्पनीको दाबी छ । कम्पनीले नेपाली ग्राहकहरुलाई विभिन्न नवीनतम सेवाहरु समेत प्रदान गर्ने योजना बनाइरहेको बताएको छ । बिक्रीबितरण पश्चात्को सेवाहरुमा पनि कम्पनीले ग्राहकहरुलाई हाल बजारमा रहेका अन्य ब्राण्डहरुको तुलनामा धेरै फरक सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको दाबी गरेको छ ।

साथै, आइमार्सले देशभरका विभिन्न स्थानहरुमा आइमार्स् प्लाजाको स्थापना गरी सोमार्फत आफ्ना विभिन्न प्रोडक्टहरुको रेन्ज प्रदान गर्ने योजना बनाएको छ । आइमार्स् चाइनाले ब्राण्डको नेपालमा बजार व्यवस्थापन तथा सर्भिस प्रत्यक्ष रुपमा हेर्ने भएको छ र यसका लागि नेपालका लागि कन्ट्री म्यानेजरमा सुशील न्यौपानेलाई नियुक्त गरेको छ ।

आइमार्स् चाइनाको ‘हेङ् दा ग्रुप’ अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत कम्पनी हो । सन् २०१८ मा कम्पनीले आप्mनो प्रोडक्टलाई विश्वव्यापी रुपमा लैजाने निर्णय लिई आइमार्स् नाम अन्तर्गत विभिन्न उत्पादनहरु, जस्तै: फिचर फोन, स्मार्टफोन, स्मार्ट टेलिभिजन, ल्यापटप तथा अन्य एक्सेसरिजहरुको बिक्रीवितरण गर्न सुरु गरेको हो ।

विगत १२ वर्षदेखि मोवाइलफोन तथा टेक्नोलोजीको क्षेत्रमा विशिष्ट अनुभव बोकेको ओपल मल्टिनेशनल नेपालका लागि आइमार्स् नेपालको एकमात्र आधिकारिक बितरक हो ।


क्लिकमान्डु