काठमाडौंका ६ स्थानमा फ्री वाइफाइ



काठमाडौं । काठमाडौंका ६ स्थानमा आजदेखि औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन भएको छ । काठमाडौं महानगरपालिकाले ६ स्थानमा आजदेखि औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको हो ।

काठमाण्डौ महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशनको सहकार्यमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको हो ।

काठमाडौं उपत्यका भित्रका बसन्तपुर, बौद्ध, संखपार्क, स्वयम्भु, वालाजु, बाइपास र पशुपती क्षेत्रमा फ्रि वाइफाई सञ्चालनमा ल्याइएको महानगरको भनाई छ । यी स्थानहरुमा १० एमबीपीएसको इन्टरनेट सेवा जडान गरिएको छ ।

गत बैशाखमा महानगरपालिका र वल्र्डलिङ्कको सहकार्यमा काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाइ जडान गर्ने सम्झौता भएको थियो ।

हाल पशुपती क्षेत्रमा ७ सय जनाले फ्री वाईफाई चलाउन सक्ने क्षमताको व्यान्डवीथ छोडिएको छ । बौद्धमा ५ सय जना, बालाजुमा ७ सय जना, शंखमुलमा २ सय जना, स्वयम्भुमा ३ सय जना र बसन्तपुरमा ५ सय जनासम्मले फ्री वाइफाई चलाउन सकिने गरी सेवा सञ्चालनमा ल्याइएको महानगरले जानकारी दिएको छ ।

महानगरपालिकाका अनुसार एउटा व्यक्तिले ३० मिनेटसम्म फ्रि वाइफाई चलाउन सक्ने छन् । कुनैपनि व्यक्तिले प्रतिदिन ३० मिनेट अर्थात आधा घण्टा मात्र सेवा लिन सक्ने छन् ।


क्लिकमान्डु