विश्व बैंकद्वारा महासंघसँग सहकार्य गर्ने इच्छा व्यक्त




काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारीहरू र नेपालका लागि विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा विश्व बैंक र निजी क्षेत्र बीचको सहकार्यलाई पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका क्षेत्रमा केन्द्रीत गर्नुपर्नेमा जोड दिइयो ।

सो भेटवार्तामा महासंघका अध्यक्ष राणाले नेपालमा रहेका सम्भाव्यताहरूमा सहयोग गर्न विश्व बैंक समक्ष आग्रह गरिन् । अध्यक्ष राणाले कनेक्टिभिटी, बैंकिङ, पूर्वाधार, आईटी, लगायतका विषयमा सार्वजनिक निजी साझेदारीका साथै सार्वजनिक निजी संवादको अवधारणा अनुरूप अगाडी बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

नेपालमा कर मैत्री र लगानी मैत्री वातावरण निर्माणमा विश्व बैंकको महत्वपूर्ण भूमिका हुनसक्ने भएकाले त्यसका लागि सहजीकरणमा सहयोग गर्न अध्यक्ष राणाले आग्रह गरिन् ।

सो अवसरमा विश्व बैंकका कन्ट्रि म्यानेजर फेरिस हादाद जर्भसले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको र नेपालको विकास प्रयासमा निजी क्षेत्रसंग मिलेर कार्य गर्ने विश्वास दिलाए । उनले विश्व बैंकको सहयोगको क्षेत्र र निजी क्षेत्रको अपेक्षा एकै किसिमका रहेकोले सहकार्यका लागि सहज हुने समेत बताए ।

उक्त भेटवार्तामा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष्ँ शेखर गोल्छा, उपाध्यक्षहरू किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकाल, निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, विश्व बैंकका अधिकारी सहभागिता रहेको थियो ।


क्लिकमान्डु