एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य, मौसम सम्बन्धी जानकारी अब एसएमएसमा



काठमाडौं । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभाग बीचको सहकार्यलाई अझ वृहत बनाउँदै पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पूर्वसूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् ।

सहकार्यको शुरुवात देखिनै एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्युन गर्न मद्दत पुर्याउदै आएको छ ।

यो नयाँ समझदारीले बाढी तथा पहिरो पूर्वसूचना प्रणालीका लागि एनसेल र जल तथा मौसम विज्ञान विभागको सहकार्यलाई थप पाँच वर्षका लागि औपचारिकता प्रदान गरेको छ ।

यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएस मार्फत प्रदान गर्दै आएको बाढीपहिरो सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ ।

यसका साथै, कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत १५ लाख सहयोग गर्ने भएको छ ।

यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेरपनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् ।

हाललाई यो पूर्व सूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउदै आएको छ ।


क्लिकमान्डु