बल्खु तरकारी बजारमा अनुगमन, १ व्यापारी पक्राउ



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति विभागले कालिमाटीपछि बल्खुस्थित तरकारी बजारमापनि अनुगमन गरेको छ । आज बिहान ४ बजे बल्खु तरकारी बजारमा अनुगमन टोली पुगेको हो ।

अनुगमनका क्रममा एक जना व्यापारीलाई पक्राउ गरिएको विभागका संरक्षण अधिकृत दीपक पोखरेलले बताए । उनले बल्खु तरकारी बजारमा अनुगमनका क्रममा व्यापारी रवि साहले अनुगमन टोलीप्रति अक्रोस व्यक्त गरेपछि पक्राउ गरिएको बताए ।

पोखरेलकै नेतृत्वमा गएको टोलीले २ सय ४० वटा स्टलमा अनुगमन गरेको हो । त्यसमध्ये सबै व्यवसायीहरु महानगरपालिकामा दर्ता भएपनि केही भने दर्ता नभएको पाइएको पोखरेलले बताए ।

‘सबैले महानगरपालिकाको वडा कार्यालयमा दर्ता गरेका छन्, तर प्यान दर्ता भने थोरैले गरेको पाइयो, एक त त्यो तरकारी बजार कम्पनीले चलाएको भएकोले हामीले ढक र तराजुको कागज कम्पनीसँग माग गरेका छौँ,’ पोखरेलले भने ।

उनले बल्खु तरकारी बजार सञ्चालक कम्पनीलाई सबै कागजातहरु ल्याउन निर्देशन दिएको बताए । व्यवसायीले गाडीमा आएको सामानको बिल राखेको, तर पैसा तरकारी बिक्री भएपछि मात्र दिने गरेकोले बिल नपाइएको पोखरेलले बताए ।

यस्तै, बल्खु तरकारी बजारका अध्यक्ष मोहनकुमार बस्नेतले ६०\७० वटा स्टलले प्यान समेत दर्ता गराइसकेको बताए । उनले १ सय ५६ व्यवसायीहरुले महानगरपालिकामा व्यवसाय दर्ता गरेको दाबी गरे ।

यस्तै, केही व्यवसायीहरु भने भारतीय नागरिक भएको र नागरिकता उतै हुँदा लामो प्रोसेसमा जानु परेकाले दर्ता गर्न नसकेको बस्नेतले बताए ।

‘असारमा व्यवसाय दर्ता गर्ने भनिएको थियो, दर्ता कता गर्ने ? स्थानीय सरकारमा जाने कि कहाँ जाने, भाडा कता बुझाउने नगरपालिकामा कि कहाँ ? भन्ने थाहा थिएन र प्यानमा जाने कुरा केही असहज भएकाले ढिलो भएको हो,’ बस्नेतले भने ।

उनले भारतीय नागरिक बाहेक अन्य तरकारी व्यवसायीहरुलाई १५ देखि २० दिन भित्र प्यानमा दर्ता गर्न आग्रह गरिएको बताए ।

बल्खु तरकारी बजार कम्पनी ऐन अन्तर्गत खोलिएकाले सबै व्यवसायीहरुको दर्ता कागज तथा बिलहरु आफुसँग सुरक्षित भएको बस्नेतले बताए ।


क्लिकमान्डु