लगानी भित्राउन जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने



काठमाडौं । लगानी भित्राउनको लागि जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ ।

नगरपालिकाले आगामी भदौ २९ गते शुक्रबारका दिन जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा विकासः सामथ्र्यको उजागर साथ एक दिने लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।

नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले मुलुकको अग्रगामी विकासका लागि जनअनुमोदीत हामी जनप्रतिनिधिहरुले जनताको चाहना, भावना र आवश्यकताको आँकलन गर्दै विकासको प्रतिफल दिन मन, वचन र कर्मले प्रतिवद्ध रहेको बताइन् ।

उनले जुम्ला चन्दननाथ नगरपालिकाको पहलमा हामीले स्थानीय तहमा पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्न लागेका जानकारी दिइन् ।

भौतिक विकास र मानवविकासका दृष्टिले पिछडीएको कर्णालीमा यो लगानी सम्मेलनले ठूलो अर्थ बोकेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाको अग्रसरतामा लगानी सम्मेलन आयोजना गर्न लागिएको भए पनि यसले समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य नगरपालिकाले लिएको छ ।

सम्मेलन प्रमुख अतिथिका रुपमा नेपाल सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले सम्बोधन गर्ने छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेल, सदस्य मीनबहादुर शाहीले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

लगानी प्रवद्र्धन सम्मेलनमा देशका प्रतिष्ठीत उद्योगी व्यवसायीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा जुम्लामा रहेका लगानीका अवसरका क्रममा छलफल हुनेछ भने स्थानीय विज्ञहरुले कृषि, पर्यटन तथा गैरवन पैदावार (जडिबुटी) का सम्भावनाका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुने छ ।

लगानी गर्न इच्छुकहरुले सम्मेलनका क्रममा लगानी सम्भवनाका आधारभूत सर्वेक्षण समेत गर्ने आशा नगरपालिकाले लिएको छ ।


क्लिकमान्डु