काठमाण्डौ महानगरको करः ठेलारिक्सा नामसारीमा ५ सय, अनलाइनमा विज्ञापन गर्दा २५ हजार (विवरण सहित)




काठमाडौं । काठमाडौं महानगरपालिकाले १ लाख ७४ हजार ५ सय रुपैयाँसम्म सम्पत्ती कर लिने भएको छ । महानगरले आर्थिक वर्ष ०७५/७६ का लागि जारी गरेको आर्थिक ऐनले १० करोडसम्मको सम्पत्तीमा १ लाख ७४ हजार ५ सय रुपैयाँ कर लिन पाउने व्यवस्था गरेको छ ।

महानगर क्षेत्रभित्र रहेको एफएम स्टेशन, राष्ट्रिय पत्रिका, स्थानीय पत्रिका, अनलाईन मिडियाबाट कर लिने भएको छ । महानगरले स्थानीय पत्रिका, एफ एम स्टेशन र अनलाइनबाट १ हजार रुपैयाँ, राष्ट्रिय पत्रिकाबाट २ हजार र टेलिभिजनबाट ५ हजार रुपैयाँ कर लिने भएको छ ।

महानगरले भवनको प्रकार तथा बनोटका आधारमा भवनको मूल्याङ्कन दर कायम गरेको छ । महानगरले भवन हेरेर न्यूनतम १ हजार ५ सय र अधिकतम २ हजार ६ सय रुपैयाँ प्रतिवर्गफिट मूल्याङ्कन गरेको छ ।

काठमाडौं महानगरपालिका भित्रको जग्गाको मूल्याङ्कन अनुसार प्रतिआना अधिकतम ५० लाख र न्यूनतम ४ लाख रुपैयाँ रहेको छ ।

कहाँ कति कर ?
महानगरले व्यापारिक वस्तुमा अधिकतम १ लाख र न्यूनतम ५ सय रुपैयाँ कर लिने भएको छ । महानगरले पान पसलले समेत २ हजार रुपैयाँ कर तिर्नुपर्ने उल्लेख गरेको छ ।

विशेषज्ञ, परामर्श सेवा तथा अन्य सेवा व्यवसायले अधिकतम ५० हजार र न्यूनतम १ हजार रुपैयाँ कर तिर्नुपर्ने छ ।

उत्पादनमूलक व्यवसायमा महानगरले अधिकतम ५० हजार र न्यूनतम १ हजार रुपैयाँ कर लिने भएको छ ।

कृषि तथा बन्यजन्तुमा महानगरले अधिकतम १२ हजार र न्यूनतम १ हजार रुपैयाँ कर लिने उल्लेख गरेको छ । पर्यटन व्यवसायबाट महानगरले अधिकतम १ लाख र न्यूनतम ३ हजार रुपैयाँ कर लिने भएको छ ।

सेवा व्यवसायले महानगरलाई अधिकतम १० हजार, न्यूनतम १ हजार रुपैयाँ कर तिनुपर्ने हुन्छ । सञ्चार सेवा व्यवसायबाट महानगरले अधिकतम एक लाख रुपैयाँ र न्यूनतम १ हजार रुपैयाँ कर लिने भएको छ ।

वित्तीय सेवा व्यवसायमा महानगरले अधिकतम १ लाख रुपैयाँ र न्यूनतम १ हजार रुपैयाँ कर लिने भएको छ । स्वास्थ्य सेवा क्षेत्रबाट महानगरले अधिकतम १ लाख र न्यूनतम ३ हजार रुपैयाँ कर लिने भएको छ ।

शिक्षा तथा तालिम व्यवसायबाट महानगरले अधिकतम २ लाख ५० हजार र न्यूनतम २ हजार रुपैयाँ कर लिने भएको छ । मर्मत संभार व्यसायमा महानगरले अधिकतम ५० हजार र न्यूनतम १ हजार रुपैयाँ कर लिने भएको छ ।

निर्माण व्यवसायबाट महानगरले अधिकतम २५ हजार र न्यूनतम २ हजार रुपैयाँ कर लिने भएको छ ।

उर्जा उद्योगमा महानगरले न्यूनतम अधिकतम १० हजार र न्यूनतम २ हजार रुपैयाँ कर लिने भएको छ । निर्माण उद्योगमा महानगरले अधिकतम २५ हजार र न्यूनतम २ हजार रुपैयाँ कर लिने भएको छ ।

अन्य सेवामा महानगरले १ हजारदेखि ५० हजार रुपैयाँसम्म कर लिने भएको छ । यस्तै, अन्य व्यवसायमा महानगरले २ हजारदेखि ३ लाखसम्म कर लिने भएको छ ।

सिफारिश शुल्क
महानगरबाट घर जग्गा नामसरी सिफारिस गर्नु परेमा १ हजार रुपैयाँ, विदेशमा छात्रवृत्ति अध्ययनको सिफारिस गर्नु परेमा १ सय रुपैयाँ, जीवितै रहेको सिफारिस गर्नुपरेमा ५ सय रुपैयाँ, व्यवसाय बन्द गरेको सिफारिस गर्नु परेमा १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, महानगरबाट, व्यापार व्यवसाय नभएको सिफरिस गर्नुपरेमा २ हजार रुपैयाँ, जन्म मिति, विवाह र अविवाहित प्रमाणित गर्नुपरेमा १ सय रुपैयाँ शुल्क लाग्ने महानगरले आफ्नो आर्थिक ऐनमा उल्लेख गरेको छ ।

महानगरले ठेला रिक्सा दर्ता तथा नामसारी गर्दा ५ सय रुपैयाँ शुल्क लिनेछ । यसबाहेक महानगरले विभिन्न सिफारिस अन्र्तगत १० हजार देखि १ सय रुपैयाँसम्म सेवा शुल्क लिने भएको छ ।

महानगरको मिडियामा विज्ञापन गर्दा
काठमाडौं महानगरपालिकाले अनलाईन पत्रिकामा विज्ञापन शुल्क समेत तोकेको छ । महानगरले आफुले सञ्चालन गरिरहेको अनलाईनमा विज्ञापन गर्न प्रतिघण्टा १ सय रुपैयाँ, प्रतिदिन ५ सय, प्रतिमहिना ५ हजार र प्रतिवर्ष २५ हजार रुपैयाँ शुल्क लाग्ने बताएको छ ।

यसबाहेक महानगरले आफुले सञ्चालन गरिरहेको रेडियोमा विज्ञापन गर्न प्राईम टाईममा प्रतिमिनेट २ सय र सामान्य समयमा प्रतिमिनेट १ सय रुपैयाँ शुल्क लाग्ने आर्थिक ऐनमा उल्लेख गरेको छ ।


क्लिकमान्डु