बिदेश पढ्न पैसा लैजादा नेपालमा तिर्नुपर्ने कर दोब्बर भयो




काठमाडौं । नेपालबाट बिदेशी कलेजहरुमा अध्ययन गर्न जाने नेपालीले लैजाने पैसामा तिर्नुपर्ने कर दोब्बर भएको छ । गत आर्थिक बर्षसम्म जति पैसा लैजाने हो त्यसको १ प्रतिशत कर तिरे हुने ब्यवस्था रहेकोमा चालु आर्थिक बर्षदेखि २ प्रतिशत कर तिर्नुपर्ने भएको हो ।

चालु आर्थिक बर्षको आर्थिक अध्यादेशले बिदेश अध्ययन गर्न जाने विद्यार्थीले लैजाने रकममा लाग्ने शुल्क २ प्रतिशत बनाएको अर्थमन्त्रालयका प्रवक्ता चन्द्रकला पौडेलले बताइन् ।

‘अघिल्लो बर्षको आर्थिक ऐनमा १ प्रतिशत कर लाग्ने ब्यवस्था थियो, यो बर्षको आर्थिक ऐनले यस्तो रकम बढाएर २ प्रतिशत बनाएको छ,’ प्रवक्ता पौडेलले भनिन् ।

सरकारले चालु आर्थिक बर्षदेखि नेपालका स्कूल तथा कलेजहरुमा अध्ययन गर्न लाग्ने शुल्कमा कर तिर्नुपर्ने ब्यवस्था भने हटाएको थियो । नेपालमा अध्यययन गर्दा लाग्ने कर हटाएर सरकारले विदेशमा पढ्न जादा लाने रकममा लाग्ने कर दोब्बर बनाएको हो ।

यस्तो रकम विद्यार्थीले बिदेशी मुद्रा सटही गर्दा बैंकले नै काटिदिने गरेका छन् । सम्बन्धित बैंकहरुले नै सटही सुविधा प्रदान गर्दा विद्यार्थीले कति पैसा विदेश पठाउने हो सो रकमको २ प्रतिशत कटौति गरेर पठाउने गरेका छन् ।

शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा करिब ७२ हजार नेपाली विद्यार्थीले विदेश पढ्नको लागि पैसा पठाउन ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । यस्तो पत्र शिक्षा मन्त्रालयले दिने गर्छ ।

यस्तै आर्थिक बर्ष २०७३/७४ मा करिब ६० हजार र आर्थिक बर्ष २०७२/७३ मा करिब ५० हजार विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए । नो अब्जेक्सन लेटर लिएका नगन्य संख्यामा मात्रै विदेश नजाने गरेका छन् । भारत अध्ययनमा जानेहरुले भने यस्तो पत्र लिनु पर्दैन ।

विदेश अध्ययनमा जाने विद्यार्थीहरुले औषतमा प्रतिविद्यार्थी १५ लाख रुपैयाँ रकम विदेश पठाउने गरेका शिक्षा मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु