बागमती र दिब्यश्वरी एकीकरण आयोजनाको जग्गा फिर्ता गर्न लाग्यो प्राधिकरणले




काठमाडौं । बागमती र दिब्यश्वरी जग्गा एकीकरण आयोजनाले जनताको जग्गा फिर्ता गर्न लागेको छ । यी दुई आयोजनामध्ये वागमतीले करिब ६० प्रतिशतसम्म जग्गा फिर्ता गरिसकेको छ ।

बागमती जग्गा एकीकरण आयोजनाले रोक्का राखेको करिब ६० प्रतिशत जग्गा फिर्ता गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका जिल्ला सुचना अधिकृत नरेन्द्र न्यौपानेले बागमती आयोजनाका ६० प्रतिशत पुँर्जा फिर्ता गरिएको र दिब्यश्वरी आयोजनाका अस्थाइ पुर्जा फिर्ता गर्न थालिएको जानकारी दिए ।

‘हाल दिब्यश्वरी आयोजनाको अस्थाई पुर्जा फिर्ता भइरहेको छ, स्थाई पुर्जाका लागि आवेदन आए भने त्यो पनि बिस्तारै वितरण गरिने छ,’ न्यौपानेले भने ।

दिब्यश्वरी ७ सय ३५ रोपनी जग्गामा रहेको छन् भने बागमती १ हजार २ सय ४८ रोपनी जग्गा छ ।

यी ठाउँमा सरकार आफैले जग्गा एकीकरण गरी विकास पछि फिर्ता गर्न थालेको हो । अस्थायी पुर्जा लिएका ब्यक्तिहरुले त्यस्तो ठाउको जग्गामा घर बनाउन मात्रै पाउने छन् भने स्थायी पुर्जा नै फिर्ता भएको बागमती जग्गा एकिकरण आयोजनाभित्रका जग्गाधनीले नयाँ मापदण्ड अनुसार जग्गाको कित्ताकाट र विक्री वितरण गर्न पाउने छन् ।

यस्तै बैशाख यता ८ देखि १० वटा जग्गा प्लटिङका लागि स्वीकृत भएको उनले बताए । यो आर्थिक वर्ष सुरु भएपछि भने एउटा पनि प्लटिङका लागि नआएको उनले जानकारी दिए ।

बढ्दो अव्यवस्थीत शहरीकरणको नियन्त्रणका लागि सरकार आफैले जग्गा एकीकरण गरी विकासका पुर्वाधार निर्माण पछि जनतालाई फिर्ता गराउन थालेको हो ।

बागमती जग्गा एकीकरण आयोजनाले गुहेश्वरीदेखि बौद्धसम्मको जग्गा एकीकरण गरेर पूर्वाधार विकास गरेको हो भने दब्यश्वरी आयोजनाले पेप्सीकोलादेखि मनोहरा खोलासम्मको जग्गा एकीकरण गरी पूर्वाधार निर्माण गरेको हो ।


क्लिकमान्डु