साहित्यमा नोबेल पुरस्कार विजेता भी.एस. नयपालको निधन



लन्डन । साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।

भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उनका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ फ्री स्टेट” रहेका छन् ।

“उनको मृत्यु पारिवारिक सदस्यहरुका माझमा भयो,” नयपालकी पत्नी नदीरा नयपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सरेका थिए र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरेका थिए ।

नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताएका थिए । बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहेपनि उनले साहित्यमा पूर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गरे । उनका सुरुआती वर्षहरुका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तरपछि उनको रचना विश्वजगतलाई समेट्ने किसिमका हुन थाले ।

उनी विगतमा विवादित पनि बने, खासगरी उनले उत्तर–औपनिवेशिक मुलुकहरुलाई “अर्ध–निर्मित समाज” का रुपमा चित्रित गरेपछि । ईस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उनमाथिको आलोचना तीव्र बनेको थियो ।

सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेखेका छन् । रासस\एएफपी


क्लिकमान्डु