बीमा कम्पनीका शेयर : बजार घटे, शाख घटेन



काठमाडौँ । धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटेपनि बजारको शाख राखिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।

निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्यहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ ।

दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ ।

स्टकका अनुसार जीवन बीमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर एक हजार ६२८ मा कारोवार भएको थियो ।

यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता ३३३ ले घटेर ८३६ कायम भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर दुई हजार ४० मा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार २३६ मा खरिद बिक्री भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार ७०० मा कारोवार भएको थियो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन् ।

उनले भने, “बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।” बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाइ छ ।

निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ४२६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर ८२० मा खरिद बिक्री भएको थियो । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ८०३ मा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर एक हजार २६० मा खरिद बिक्री भएको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सको शेयर रु ५१६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता एक हजार १० मा खरिद बिक्री भएको थियो ।
यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता रु ५२०, एनएलजीको ८४२, प्रभु इन्स्योरेन्सको रु ४९७, प्रिमियर इन्स्योरेन्सको एक हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको ७३३ मा कारोवार भइरहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर १७ हजार ८०० मूल्यमा खरिद बिक्री भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर एक हजार ३२५ मा खरिद बिक्री भइरहेको छ ।

गत वर्ष एक हजार ७६० मा खरिद बिक्री भएको थियो । शिखर इन्स्योरेन्स कम्पनीको शेयर ९१७ मा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको ६६० र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८१७ मा खरिद बिक्री भइरहेको छ । रासस


क्लिकमान्डु