काठमाण्डौ महानगरले १० अर्ब राजश्व उठायो, लक्ष्य पुर्याउन सकेन



काठमाडौँ । आर्थिक वर्ष २०७४\७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

महानगरपालिकाले गत आवमा १० अर्ब २७ करोड ४१ लाख ७४ हजार राजश्व उठाउने लक्ष्य राखेकामा पाँच अर्ब ३१ करोड ८३ लाख ४३ हजार राजश्व संकलन गरेको छ ।
सबैभन्दा बढी घरजग्गा करतर्फ रु ५७ करोड ५९ लाख ७८ हजार राजश्व असुल गरेको छ । घरबहाल करतर्फ रु ५६ करोड ३५ लाख ८ हजार तथा विज्ञापन कर र व्यवसाय करतर्फ १०\१० करोड राजश्व असुल गरेको छ ।

महानगरपालिकाका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गका अनुसार सबैभन्दा कम सव–वे करतर्फ रु ५४ हजार असुल गरिएको छ । आव २०७३\७४ मा दुई अर्ब ७८ करोड ८१ लाख १६ हजार राजश्व संकलनको लक्ष्य लिएकामा दुई अर्ब ८२ करोड ५१ लाख १३ हजार संकलन भएको प्रधानाङ्गले बताउनुभयो ।

अघिल्लो आवमा बक्यौता रकम धेरै बाँकी नरहेको तथा बाँकी रकमसमेत असुल हुन नसकेका कारण ५१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाइ छ ।

“अघिल्लो आवमा एउटै संस्थाले ३० करोडसम्म बक्यौता तिरेको थियो, यस वर्ष त्यो अवस्था रहेन,” प्रमुख प्रधानाङ्गले भने । महानगरपालिकाले बसपार्क सेवा शुल्क ५० लाख असुल गर्ने लक्ष्य लिएकामा ४० लाख संकलन भएको छ ।

सवारी करतर्फ दुई करोड लक्ष्य लिएकामा ३१ लाख नौ हजार मात्र असुल गरेको छ । मालपोत कर भने १० करोड लक्ष्य लिएकामा ११ करोड ३० हजार असुल गर्न सफल भएको राजश्व महाशाखाले जनाएको छ । रासस


क्लिकमान्डु