अब सरकारी कर्मचारीले पाउदै आएको मासिक तलब घट्ने



काठमाडौं । अबदेखि सरकारी जागिर खानेले पेन्सन पाउनको लागि ६ प्रतिशत आफै योगदान गर्नुपर्ने भएको छ ।

सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न लागेको छ । योगदानमा आधारित पेन्सनको विधेयकमा पेन्सन फण्ड संचालन गर्नको लागि ६ प्रतिशत रकम कर्मचारीबाट काट्ने छ भने ६ प्रतिशत रकम सरकारले थपेर कोष बनाउने छ । त्यो कोषमा भएको रकम विभिन्न क्षेत्रमा लगानी हुने छ ।

अर्थमन्त्रालयले १० प्रतिशत रकम पेन्सन फण्डको लागि काट्ने व्यवस्था गरेकोमा मन्त्रीपरिषद्ले त्यसलाई सच्चाएर ६ प्रतिशतमा झारेको छ । मन्त्रीपरिषद्ले विधेयक पारित गरेपछि संसद्मा पठाउने छ ।

संसद्ले विधेयक पारित गरेपछि त्यसपछि नियुक्त हुने कर्मचारीले पेन्सनको लागि आफ्नो तलबाट पनि खर्च गर्नुपर्छ । पहिल्लै नियुक्त भएका कर्मचारीको हकमा यो व्यवस्था लागु हुँदैन ।

सरकारले पेन्सनमा अत्याधिक खर्च बढेपछि योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न लागेको हो । गत आर्थिक वर्षमा पेन्सनमा मात्र ४० अर्ब रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ३७ अर्ब रुपैयाँ खर्च भएको थियो ।

हरेक वर्ष पेन्सनमा हुने खर्च बढ्दो क्रममा रहेको छ ।

सरकारले अघिल्लो वर्षको बजेटमा नै योगदानमा आधारित पेन्सन प्रणालीको घोषणा गरेको थियो । यो सम्बन्धी कानून नबनेपछि यो व्यवस्था लागु भएको थिएन । यो वर्षको बजेटमा पनि यो नीतिलाई निरन्तरता दिदै योगदानमा आधारित पेन्सन प्रणालीको व्यवस्था लागु गर्ने घोषणा गरिएको थियो ।

राजा ज्ञानेन्द्रले शत्ता नियन्त्रणमा लिदा योगदानमा आधारित पेन्सन प्रणाली लागु गरेर अध्यादेश जारी गरेका थिए । लोकतन्त्र स्थापना भएपछि यो व्यवस्था खारेज भएको थियो ।


क्लिकमान्डु