एनटिसीले एफटीटीएच सेवामा निशुल्क भ्वाइस सेवा दिने



काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ ।

सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ ।

आइपी बेस्ड प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा हाइ स्पीड इन्टरनेटका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ ।

यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले(भ्वाइस,हाइ स्पीड इन्टरनेट तथा भिडियो) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ ।

ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको छ ।


क्लिकमान्डु