जनतासँग पैसा लिन होइन, नाफा बाँढ्न शिवम् सिमेन्ट पब्लिकमा गएको हो: संस्थापक सतिश मोरको अन्तर्वार्ता



सतिश मोर नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हुन् । व्यवसायिक घराना लक्की ग्रुपका अध्यक्ष रहेका मोरसँग व्यापार,उद्योग तथा सेवा क्षेत्रको व्यवसायिक यात्राको ४० वर्षे अनुभव छ । मोर आबद्ध लक्की ग्रुप सहित ६ वटा व्यवसायिक घरानाले लगानी गरेको शिवम सिमेन्टले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको छ । मोरसँग नेपालको व्यवसायिक वातावरण तथा शिवम सिमेन्टको आइपियोको विषयमा गरेको क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानी

दुईतिहाईको शक्तिशाली सरकार बनेको ५ महिना भयो, निजी क्षेत्रले आशा गरे अनुसार सरकारले काम गरेको छ ?

विगतका हाम्रा सरकारहरु हरेक ९ महिनामा परिवर्तन हुन्थे । त्योसँगै कर्मचारीमा समेत परिवर्तन हुने गरेको थियो । अहिले तीन तहको निर्वाचन भयो । स्थायी सरकार आएको छ । सरकारको नारा पनि आर्थिक क्रान्तिको छ । सरकारको सोच त्यसमा भएको देखिन्छ । अहिले सरकारमा अर्थतन्त्रका अत्यन्त्य जानकार अर्थमन्त्री हुनुहुन्छ । हामीले ए भन्दा उहाँले जेड नै बुझ्नुहुन्छ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकमा काम गरेको अर्थमन्त्री हुनुहुन्छ ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि लोडसेडिङ अन्त्य भयो । यसले देशका अरु क्षेत्रजस्तै औद्योगिक क्षेत्रमा पनि राम्रो प्रभाव परेको छ । आर्थिक विकासको बाटोमा देश जान्छ भन्ने मलाई लाग्छ ।

तर, सरकार गठनसँगै भन्सारमा सन्दर्भ मूल्यबाट देखिएको विवाद बजेट आउदासम्म करका धेरै विषयमा तपाईहरु र सरकारबीच विवाद देखियो, होइन ?

हामीले पहिल्यैदेखि यो विषय उठाएको हो । सरकारलाई अन्डरभ्यालुएसन लागेको छ भने सरकारले किन्नुपर्यो । म आफैपनि आयातकर्ता हो । १० डलरको सामान ८ डलरमा ल्याउछु । त्यो सामान हामीले बजारमा बिक्री गर्नको लागि ल्याएको हो । भन्सार बढाएर सन्दर्भ मुल्य बढाएर मात्र नियन्त्रण हुँदैन । आयात गर्दा अन्डरभ्यालु भएको प्रमाण छ भने कारवाही हुनुपर्छ ।

केन्द्र,प्रदेश र स्थानीय तहका सरकारले करका दरहरु बढाएका छन्, यसले व्यवसाय गर्नको कत्तिको असहज हुन्छ ?

औद्योगिक उत्पादनको कच्चा पदार्थमा जसरी भन्सार दर बढाएको छ, यसले राम्रो गर्दैन । उद्योगलाई चाहिने कच्चा पदार्थको भन्सारदर बढेको छ । हामीकहाँ तीन तहको चुनाव भएपछि खर्च अत्याधिक बढेको छ । त्यसमा नियन्त्रण गर्न प्रयास गरेको देखिएको छैन । यस्तै अन्य खालका कर प्रदेश र स्थानीय तहले लगाएको छ । जसले गर्दा करमा कर लगाउने वातावरणको सिर्जना भएको छ ।

अहिले सरकारमा अर्थतन्त्रका अत्यन्त्य जानकार अर्थमन्त्री हुनुहुन्छ । हामीले ए भन्दा उहाँले जेड नै बुझ्नुहुन्छ ।

तपाईले ठूलो विदेशी लगानी भित्राएर काम गर्नु भएको छ, पछिल्लो समय विदेशी लगानीकर्ताको धारणा कस्तो पाउनु भएको हो ?

स्थायी सरकार नभएको बेलामा पनि हामीले सिमेन्ट उद्योगमा सबैभन्दा ठूलो विदेशी लगानी ल्याएको हो । त्यसलाई हामीले मूर्तरुप पनि दिएका छौं । छोटो अवधीमा हामीले ६ हजार टनको प्लान्ट लगाएका छौं । स्थायी सरकार आएपछि विदेशी लगानीकर्तामा उत्साह देखिएको छ । यसले हामीलाई उत्साह थपेको छ ।

लगानी गर्नको लागि सबैतिर उत्साह थपिएको छ, सरकारले कस्तो वातावरण बनाउनुपर्ने हो ?

आर्थिक क्रान्ति नगरेसम्म देशको विकास हुँदैन । अहिले ब्याजदर बृद्धि र तरलता अभावको कारण समस्या भएको छ । राष्ट्र बैंकले यसमा सुधारको प्रयास गरेको छ । सबै नीतिहरु रातारात परिवर्तन हुने कुरा हुँदैनन् । लोडसेडिङ हट्दा मात्र उद्योग क्षेत्रमा ठूलो परिवर्तन आएको छ ।

तपाईहरु सधै उद्योगको लागि सुविधा माग्नुहुन्छ, सरकारले सुविधा पनि दिन्छ। तर, उद्योगी ब्यवसायीलाई दिएको सुविधाले उपभोक्तालाई फाइदा किन फाइदा नभएको ?

यो विषय जहिल्यै पनि विवादमा हुन्छ । स्वदेशी उद्योगीलाई संरक्षण गर्ने नीति विश्वमा जहाँ पनि हुन्छ । उपभोक्तालाई फाइदा भएको छैन भन्ने कुरा म मान्ने पक्षमा छैन । अहिले एकाधिकारी व्यवसाय कुनैपनि क्षेत्रमा छैन । सबैमा प्रतिस्पर्धा छ । सिमेन्टको कुरा गरौं । सिमेन्टमा धेरै उद्योग छन् । अब नेपाल र भारतको सिमेन्ट उद्योगमा लागतमा धेरै नै फरक छ । भारतमा लाइमस्टोन र उद्योग भएको क्षेत्र नजिक छ । उनीहरुको लाइमस्टोनको लागत १८० भारु प्रतिटन हुन्छ । हाम्रोमा १५ देखि १६ सय रुपैयाँ नेपाली परेको हुन्छ । अर्को कोइलाको कुरा गरौं । जसमा हाम्रो लागत बढी हुन्छ । अर्को ऊर्जाको गुणस्तरले पनि हाम्रो लागत बढाएको हुन्छ । जसले गर्दा सिमेन्टमा भारतमा भन्दा बढी लागत हाम्रोमा पर्छ ।

अब बनस्पती घिउँको कुरा गरौं । हिजोसम्म त्यहाँ भ्याट रिफन्ड हुन्थ्यो । हामीले त्यसबाट उपभोक्तालाई फाइदा दिएका थियौं । मूल्य सस्तो थियो । अब भ्याट फिर्ता नपाउने भएपछि मूल्य त स्वभाविक रुपले बढ्छ ।

उपभोक्ताबाट उठाएको भ्याट तपाईहरुलाई फिर्ता दिदा कसरी उपभोक्तालाई फाइदा भयो र ? यसबाट मुल्य बढ्नु पर्ने आधार नहुँनुपर्ने होइन ?

हाम्रोमा भारतसँग खुल्ला बजार छ । भारतबाट चोरी पैठारी भएर सामान आएको छ । यसरी चोरी पैठारी भएर आउने सामानको गुणस्तर कम हुन्छ । हामीले उत्पादन गर्ने सामाग्रीको गुणस्तरमा सम्झौता भएको हुँदैन ।

सिमेन्टमा भारतमा भन्दा बढी लागत हाम्रोमा पर्छ जसले गर्दा सिमेन्टको मूल्य भारतभन्दा बढी भएको हो

अघिल्लो वर्षसम्म हामीले ४० प्रतिशत भ्याट रिफन्ड पाएका थियौं । ६० प्रतिशत सरकारले पाएको थियो । चोरी निकासीबाट सरकारले एक पैसा पनि भ्याट पाएको थिएन । यसरी आउने सामानबाट राज्यले कर पाएको थिएन । हामीले रोजगारी सिर्जना समेत गरेका थियौं । सोच्नको लागि कसरी सोच्ने भन्ने । हामीले उपभोक्तालाई पनि सहुलियत दिएका थियौं । अब दिन नसक्ने भएपछि मूल्य बढेको छ ।

भनेपछि सरकारले भ्याट फिर्ताको विषयमा नबुझेको हो ?

अहिले एउटा समस्या उद्योगीलाई परेको छ । पहिला क्रुड आयालमा साढे २ प्रतिशत र रिफाइनमा १० प्रतिशत भन्सार थियो । अब क्रुडलाई १० प्रतिशत र रिफाइनलाई १५ प्रतिशत गरेको छ । अर्को भ्याट रिफन्डको सुविधा पनि हटाइदियो । तोरीमा पहिला १ प्रतिशत भन्सार थियो । अहिले ५ प्रतिशत भयो । हाम्रो उत्पादन लागत जहिले पनि भारतको भन्दा बढी थियो । अब उद्योगलाई चाहिने कच्चा पदार्थलाई १० प्रतिशत भन्सार र तयारीलाई १५ प्रतिशत भन्सार भएपछि हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं ।

चिनी उद्योगमा पनि आयातित चिनीको कारण समस्या देखियो, उपभोक्तालाई पनि मार नपर्ने र उद्योगी र राज्यलाई फाइदा बनाउन के गर्दा ठिक होला ?

नेपालमा कच्चा पदार्थको आयातमा १० प्रतिशत र तयारी सामानमा १५ प्रतिशत छ भने हाम्रो उद्योगहरु चल्न सक्दैनन् । औद्योगिकरण हुन सक्दैन । नेपाल सरकारले राजस्व चाहिने हो भने तयारी सामानमा १५ को ठाउँमा २० प्रतिशत गरिदिनुपर्यो । यो विषयमा हामीले मन्त्रालयमा पनि कुरा गरेका छौं ।

अब उद्योगलाई चाहिने कच्चा पदार्थलाई १० प्रतिशत भन्सार र तयारीलाई १५ प्रतिशत भन्सार भएपछि हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं ।

सिमेन्टमा ठूलो बैदेशिक लगानी भित्राउनुभयो, समग्रमा हेर्दा सिमेन्ट उद्योगमा ज्यादै ठूलो लगानी भएको छ, अब नेपालको सिमेन्ट उद्योगको अबस्था कस्तो होला ?

नेपालमा पूर्वाधारको विकास अझै भएको छैन । विगतमा भूकम्पले देखाएको छ । गुणस्तरीय सिमेन्ट र छडको आवश्यक्ता देखाएको छ । भूकम्प अगाडि १० देखि १२ प्रतिशतको ग्रोथ सिमेन्ट र छडको थियो । अहिले २० प्रतिशतको ग्रोथ देखिएको छ । अहिले सिमेन्ट उद्योगमा धेरै कच्चा पदार्थ स्वदेशी सामान नै प्रयोग हुन्छ । जलविद्युत् पछि हाम्रोमा ठूलो सम्भावना भएको खानी उद्योग नै हो । हाम्रो देशले विकासको फड्को मार्न सकिने चार पाँचवटा क्षेत्र छन् । जसमा सिमेन्ट पनि पर्छ ।

सिमेन्टमा लगानी पनि बढ्यो, उद्योगको संख्या पनि बढ्यो, तर भूकम्प पीडितले घर बनाउने बेला मूल्य बढाएर पीडितलाई थप पिडा दिनुभयो नि ?

उद्योगमा हामीले भ्यालु बढाएको थिएन । हाम्रोमा ग्रान्डिङ उद्योगहरु छन् । ती उद्योगले भारतबाट कच्चा पदार्थ ल्याउने गर्छन् । विरगन्जमा ड्यूटी कार्गोको विवादले गर्दा क्लिङर आयात हुन सकेन । उद्योगीले अर्को रुटबाट यसलाई ल्याउनुपर्ने भयो । जसले गर्दा लागत बढी भयो । त्योबेला भारतमा क्लिङकरको मुल्य पनि बढ्यो । कस्ट अफ प्रोडक्सन बढ्दा मुल्य बढेको हो । हामीले भूकम्पलाई अवसरको रुपमा लिन खोजेको छैन ।

शिवम सिमेन्टले सर्वसाधारणलाई सेयर जारी गर्दैछ, स्थानीयलाई सेयर जारी गर्न सुरु भयो, किन सर्वसाधारणलाई सेयर जारी गर्नुभयो ?

हामीले सन् २०१० देखि नै उद्योग सुरु गरेको हो । सात सय टनबाट ग्रान्डिङ र १२ सय टनको क्लिङकर गरेका थियौं । ५ देखि ६ वर्षको अवधीमा हामीले अहिले १९ टन ग्रान्डिङ र ३ हजार टनको क्लिङकरको उत्पादन क्षमता पुगेको छ । यो लगातार नाफा भएको उद्योग हो । यसले लाभांश पनि बाढेको छ । रिर्जभ पनि ठूलो छ । तीन वर्ष अगाडि नै पब्लिक कम्पनी बनाएर न्यूनतम १० प्रतिशत सेयर पब्लिकलाई दिने निर्णय गरेको हो । त्यसले गर्दा जनताको पनि अपनत्व फिल हुनेभयो । हाम्रो उद्योगमा अहिले पनि पारदर्शीता छ । ६ जना पार्टनरको लगानी छ । अझ झन शसक्त रुपमा जान सकोस् भनेर यसो गरिएको हो ।

क्वालिटीको कुरा गर्नुहुन्छ भने हाम्रो सिमेन्ट एक नम्बर सिमेन्ट हो । ब्राण्डको कुरा गर्नुहुन्छ भने सबैभन्दा राम्रो ब्रान्डिङ भएको कम्पनी हो । ४० वर्षको मेरो व्यवसायिक यात्रामा शिवम् शिवम् सिमेन्ट मेरो लगानी भएको कम्पनी भन्दा मेरो आफ्नो ब्रान्डिङमा समेत मद्दत पुगेको छ ।

सिमेन्ट उद्योगमा स्थानीयको अवरोध एउटा ठूलो समस्या छ, त्यसलाई हल गर्नको लागिपनि सेयर जारी गर्ने निर्णय गरेको हो ?

हिजोसम्मको रुप र आजको रुपमा फरक आउने छ । जब तपाईको आफ्नो लगानीमा नै उद्योग आउने छ, त्यसमा हुने व्यवहारमा फरक आउने छ । सोचमा परिवर्तन आउछ भन्ने हो । जसले गर्दा २ प्रतिशत खानी र उद्योग क्षेत्रका जनतालाई अन्य पब्लिकलाई भन्दा सस्तो मुल्यमा सेयर दिएका छौं ।

तपाईहरुले महंगो मूल्यमा आइपिओ ल्याएर जनताको पैसाबाट फाइदा लिन खोज्नुभयो भन्ने आरोप छ, के साच्चिकै जनताको पैसामा खेल्नको लागि आइपिओ ल्याएको हो ?

मलाई एउटा कुरा भन्दिनुपर्यो । यो पब्लिकलाई सेयर बेचेपछि यो पैसा संस्थापकको हातमा आउने होइन । यो पैसा दुईवटा काममा मात्र प्रयोग गर्न सकिन्छ । एउटा कम्पनीले थप लगानी विस्तार गर्नुपर्यो वा बैंकको ऋण तिनुपर्यो । यो दुईबाहेक तीनवटा अप्सन हुँदैन । पुराना सेयर होल्डरलाई पैसा जादैन । आजको दिनमा हामीले ऋण लिएर काम गरेका छौं । त्यसमा ब्याज लागेको छ । त्यो ब्याजदर कम हुन्छ ।

हामीले १२ प्रतिशत सेयर जनतालाई बेच्न लागेको हो । बाँकी ८८ प्रतिशत त हामीसँग स्वामित्व रहन्छ । हामी भाग्न खोजेको त होइन नि ।

भनेपछि जनताबाट पैसा उठाएर बैंकको ऋण तिर्ने भन्न खोज्नु भएको हो ?

त्यो रकम केमा प्रयोग गर्न सकिने भन्ने मात्र कुरा हो । कि ऋण तिनुपर्छ । कि उद्योगमा लगानी गर्नुपर्छ । हाम्रो ३ हजार टनको क्षमता छ । त्यसलाई क्षमता थप विस्तार गर्ने सोच छ ।

उद्योग क्षेत्रका पब्लिक कम्पनीको इतिहास राम्रो छैन, तपाईहरुको पनि राम्रो हुन्छ भन्ने ग्यारेन्टी छ त ?

सेयर बजारमा सूचिकृत कम्पनीमा युनिलिभर र तराई बोटलर्स बाहेक अरु उद्योगको अवस्था राम्रो छै्रन । त्यो सत्य हो । त्यो नकारात्मक हुनुको पछाडि धेरैवटा कारण छन् । धेरै खालका पब्लिकमा गएका उद्योगहरु चलेनन् । यसमा एउटा मात्र कारण छैन । हामीले उपभोक्ताबाट पाएको विश्वासको आधारमा नै उत्पादन क्षमता बढाएको हो । त्यो भनेको राम्रो भएर नै हो ।

शिवम सिमेन्टले एउटा कम्पनी खोलेर होङ्सी शिवममा लगानी गरेको छ । होङ्सीको फाइदा शिवममा कसरी आउँछ ?

नेपालमा सबैभन्दा ठूलो विदेशी लगानी ल्याएको हामीले हो । होङ्सी शिवममा ३० प्रतिशत लगानी शिवम परिवारको छ । यसको फाइदा पनि शिवमका सेयरधनीले लिन पाउने छन् । ६ हजार टनको उद्योग हो । अर्को चरणमा फेरि ६ हजार टन थपिन्छ । १२ हजार टनको लाइसेन्स पाएको छ । त्यसको फाइदा आम जनताले पाएको छ ।

सेयर बिक्री हुनेमा पूर्ण रुपमा आशावादी छौं । यसको रिजर्भ नै राम्रो छ । बिक्री हुनेमा पूर्ण रुपमा आशावादी छौं ।

शिवम सिमेन्टको ८० प्रतिशत लगानी रहेको शिवम होल्डिङ कम्पनी खोलेको हो । त्यो होल्डिङले शिवम सिमेन्टमा लगानी गरेको छ । त्यसबाट आउने फाइदा १२ प्रतिशत जनताले फाइदा हुने हो ।

सेयर बजार बियरिस ट्रेण्ड भएको बेला प्रिमियममा आइपिओ निकाल्न लाग्नुभयो, बुलिसमा भएको भए अझै बढी पैसा आउने थियो जस्तो लाग्दैन ?

उद्योगमा हामीले काम गरेको धेरै वर्ष भइसकेको छ । अहिले सेयर बजार बियरिस ट्रेण्डमा छ । यसको मुल्य स्वतन्त्र लेखापरीक्षकले अडिट गरेर भएको मुल्य निर्धारण भएको हो । इक्राले रेटिङ गरेको छ ।

स्थानीयलाई सेयर निष्कासन भइसक्यो, त्यसपछि पब्लिकलाई जान्छ, सेयर बिक्री हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

सेयर बिक्री हुनेमा पूर्ण रुपमा आशावादी छौं । यसको रिजर्भ नै राम्रो छ । बिक्री हुनेमा पूर्ण रुपमा आशावादी छौं ।

तपाईहरु पब्लिकसँग लिनेभन्दा दिनको लागि पब्लिकमा गएको भन्न खोज्नुभएको हो ?

हामी संस्थापकले लाभांश खाइरहेका छौं । उद्योगले कमाएको नाफा जनतालाई पनि बाढ्नको लागि हामी पब्लिक कम्पनी भएको हो । होङ्सी संचालन भएपछि त्यसबाट हुने फाइदा पनि सेयरधनीले नै पाउने हो । हामी उद्योगको नाफा सर्वसाधारणलाई बाढ्नको लागि पब्लिकमा गएको हो ।


क्लिकमान्डु