पुँजीगत लाभकर संकलन ३५ प्रतिशतले बढ्यो, चालु आबमा अझै बढ्ने



काठमाडौं । गत आर्थिक वर्षमा देशभरी नै घरजग्गा कारोबार बढेसँगै पुँजीगत लाभकर उल्लेख्य मात्रामा बृद्धी भएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष पुँजीगत लाभकर ३५.१९ प्रतिशतले बढेको हो ।

भूमि सुधार तथा व्यवस्थापन विभागले गत आर्थिक वर्षमा ६ अर्ब २४ करोड ५६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ । आर्थिक वर्ष २०७३\७४ सालमा भने ४ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको थियो ।

विभागका प्रवक्ता रामदत्त भट्टका अनुसार नयाँ आर्थिक वर्षदेखि १० लाख भन्दा माथिको कारोबार गर्नेले पुँजीगत लाभकर तिर्नु पर्ने नयाँ नीति लागु हुने भएका कारण जग्गाको कारोबार बढी हुँदा पुँजीगत लाभकर बढेको हो । यस अघिसम्म ३० लाख माथिको कारोबार गर्नेले मात्र पुँजीकर तिर्नु पर्ने नीतिगत व्यवस्थाल रहेको थियो ।

पछिल्लो समय २३ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सुचारु भएकोले पनि पुँजीगत लाभकर बढी प्रवक्ता भट्टले बताए । यस्तै, भूमि व्यवस्थापन तथा अभिलेख विभागका बच्चु रिमालका अनुसार यो वर्ष ४५ वटा मालपोत कार्यालयमा अनलाईन सिस्टम जडान गर्ने लक्ष्य लिइएको छ ।

‘हामीले देशभरका धेरै कारोबार हुने मातपोत कार्यलयहरुमा अनलाइन सिस्टम शुरु गरिसकेका छौँ, त्यसले गर्दा जसले जहाँबाट कारोबार गरेपनि राजश्व छलि गर्न पाउँदैनन्, अर्को हामीले कार्यालय अनुगमनलाई पनि चुस्त दुरुस्त बनाएका छौँ, चालु आर्थिक बर्षमा झन् यो भन्दा बढी पुँजीगत लाभकर उठ्ने छ,’ रिमालले भने ।

उनले अबको २ वर्षमा सबै मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गरिने उनले जानकारी दिए ।

हालसम्म २३ वटा मालपोत कार्यालयमा डिजिटलाईज सिस्टम जडान गरिएको छ । अब १ सय ६ वटा मालपोत कार्यालयमा अनलाइन सिस्टम जडान गर्न बाँकी रहेको छ । देश १ सय २९ वटा मालपोत कार्यालयहरु रहेका छन् ।

हाल भक्तपुर, ललितपुर, चाबहिल, कलंकी, मनमैजु, टोखा, साँखु, धादिङ, चितवन, खैरेनी, चनौली, माडी, मकवानपुर, सिखरकोट, बाँके, भद्रपुर, बिराटनगर, पर्सा, बाग्लुङ, पोखरा, लेखनाथ र कास्की मालपोत कार्यालयहरुमा अनलाइन सिस्टम जडान गरिएको छ ।


क्लिकमान्डु