पोखराको अन्तराष्ट्रिय विमास्थल सन् २०२१ देखि संचालनमा ल्याउने सरकारी लक्ष्य



काठमाडौं । सरकारले पोखरामा निमार्ण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई देखि सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ ।

जसमा सरकारले सन् २०१९ भित्रै विमानस्थल निर्माणको ५५ प्रतिशत काम सकिने बताएको छ ।

तर, हालसम्म विमानस्थल निर्माणमा १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । १५ प्रतिशत मात्रै काम भएपनि विमानस्थल निर्माणको काम धमाधम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्री केपी शर्माओलीलाई जानकारी गराएका छन् ।

अधिकारीले गत विहीबार विमानस्थल निरीक्षणमा पुगेको प्रधानमन्त्री ओलीलाई विमानस्थल निर्माणको अवस्था र योजनाबारे ब्रिफिङ गरेका थिए ।

अधिकारीका अनुसार विमानस्थल निर्माणमा २०२० सम्म ८५ प्रतिशत काम हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य काम सम्पन्न हुनेछ । सोही अनुरुप २०२१ को जुलाई देखि हवाई सेवा सञ्चालन हुने अधिकारीले प्रधानमन्त्री ओलीलाई जनाकारी गराएका थिए ।

यो सँगै अहिले प्रदेश सरकारको सहयोगमा विमानस्थल निर्माणमा तीब्रता आएको अधिकारीको भनाइ छ ।

विमानस्थल निरीक्षणमा पुगेको प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय वायुयानको वेस राखी हवाई सेवा सञ्चालन गर्नुपर्ने बताएका थियो । प्रधानमन्त्री ओली सोही अनुरुप थप आवश्यक जग्गा खरिददेखि आवश्यक पूर्वाधार निर्माण गर्ने समेत निर्देशन दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले विमानस्थल निर्माण गरिरहेको छ । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ । प्रधानमन्त्री केपी ओलीले ०७३ साल वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए । त्यसअघि ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला चीन भ्रमणका क्रममा विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो । झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएपछि काम सुरु भएको हो ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउने–जाने ती विमानको यात्रु क्षमता २ सय सम्मको हुनेछ ।


क्लिकमान्डु