अर्थमन्त्री खतिवडाले भनेः इन्टरनेट चलाएपछि कर पनि तिर्नुपर्छ




काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इन्टरनेटमा लगाइएको कर सम्बन्धमा आफ्नो धारणा सार्बजनिक गरेका छन् ।

चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा सम्बन्धमा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खतिवडाले आफ्नो धारणा सार्बजनिक गरेका हुन् ।

उनले इन्टरनेट प्रयोगमा कर तिर्नै पर्ने बताए । कुनै पनि सेवा प्रयोग गरे वापत कर तिर्नुपर्ने ब्यवस्था अनुसार इन्टरनेट सेवा प्रयोगकर्ताले कर तिर्नुपर्ने उनको भनाइ छ ।

‘इन्टरनेट चलाएपछि कर पनि तिर्नुपर्छ, यो कर सेवा उपयोग गर्ने ब्यक्तिले नै तिर्ने हो, आफूले प्रयोग गरेको सेवा र सुविधाको कर नतिर्ने हो भने राज्य संचालन गर्नको लागि पनि विदेशबाट ऋण लिनुपर्ने हुन सक्छ, यो अबस्था राम्रो होइन, त्यसैले सेवा प्रयोग गर्नेले कर तिर्नुपर्छ,’ अर्थमन्त्री डा. खतिवडाले भने ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत इन्टरनेट सेवा प्रयोगमा १३ प्रतिशत दुरसंचार सेवा शुल्क लगाएको छ । यस्तो शुल्कको चर्काे विरोध भइरहेको समयमा अर्थमन्त्रीको यस्तो धारणा आएको हो ।

उनले इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायकले सस्तोमा इन्टरनेट किनेर उपभोक्तालाई महंगोमा विक्री गरिरहेको आरोप पनि लगाए । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट महसुल घटाउनु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु