सुरु भयो इक्यान मेला, ६ गतेसम्म चल्ने



काठमाण्डौ । भृकुटी मण्डपमा शैक्षिक मेला सुरु भएको छ । साउन ३ गतेबाट सुरु भएको शैक्षिक मेला ४ दिनसम्म चल्नेछ ।

मेलमा २ सय ३६ वटा भन्दा धेरै शैक्षिक परामर्शदाताका स्टल रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सचिव तथा मेला संयोजक दीपकराज भुसालले जानकारी दिए ।

१२ औँ शैक्षिक मेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका हुन् । ४ दिनसम्म चल्ने मेलामा १ लाख भन्दा धेरै विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको इक्यानले बताएको छ ।

अहिले नेपालबाट ७० वटा देशमा विद्यार्थी जाने गरेको छन् । काठमाडौं इन्फोसेस एजुकेशन कन्सलट्यान्टका निर्देशक राजेन्द्र रिजालका अनुसार विदेशमा अध्ययन गर्न जानु अगाडि विद्यार्थीले आफुले पढ्न चाहेको विषय, जाने देश र त्यहाँको बारेमा बृहत जानकारी लिनुपर्छ ।

यसबाहेक विद्यार्थीले आफ्नो आर्थिक अवस्थाको पनि ख्याल गर्नुपर्ने हुन्छ । अहिले विदेश अध्ययनमा जाने ९० प्रतिशत विद्यार्थीको रोजाईमा अष्ट्रेलिया पर्ने गर्छ ।

आर्थिक अवस्था कमजोर भएका, तर शैक्षिक गुणस्तर राम्रो भएका विद्यार्थीका लागि आफुहरुले छात्रवृत्तिको व्यवस्थाका साथै अन्य विकल्पपनि खोजि दिने गरेको बताउँछन् रिजाल ।

१२ वर्षदेखि शैक्षिक परामर्शदातको रुपमा काम गर्दै आएको काठमाडौं इन्फोसेस एजुकेशन कन्सलट्यान्टले नेपाल मै विद्यार्थीलाई सूचना प्रविधिका तालिम र रोजगार समेत प्रदान गर्ने गर्छ । रिजालका अनुसार विद्यार्थीले नेपाल मै सूचना प्रविधिको तालिम लिएर गएपछि विदेशमा सहज हुन्छ ।

शैक्षिक मेलामा भ्रमण गर्न आउने विद्यार्थीहरुले एकै स्थानमा धेरै जानकारी पाउने भएकाले पनि यो मेला आवश्यक रहेको बताए इक्यानका द्वितीय उपाध्यक्ष समेत रहेका राजेन्द्र रिजालले ।

विद्यार्थीले धेरै परामर्शदाताहरु एकै ठाउँमा भेट्टाउन सकुन् र आफुले चाहेजस्तो देशमा अध्ययन गर्न सकुन् भनेर शैक्षिक मेला आयोजना गर्ने गरिएको इक्यानका सचिव भुसालले बताए ।


क्लिकमान्डु