पाकिस्तानको आम निर्वाचन: पाँच तथ्य र पाँच कारण



काठमाडौं । धेरै जसो समय सैनिक शासन व्योहोरेको पाकिस्तानमा यही साउन ९ गते आम निर्वाचन हुन लागेको छ ।

प्रजातन्त्रको अपहरण तथा पटक–पटक सैनिक कू को चक्रव्यूहमा फसेको पाकिस्तानमा राजनीतिक सत्ता कहिल्यैपनि स्थीर हुन सकेन ।

कारण आन्त्रिक मात्रै थिएन, बाह््य पनि थिए । अमेरिकासँग नजिक हुने कि चीन वा अरु विश्वसँग नजिक हुने भन्ने शक्ति संघर्षमा पर्दा पाकिस्तानले अपेक्षित गति लिन नसकेको बताइन्छ ।

यस पटकको पटक चुनावमा केही यस्ता नयाँ कुरा हुन लागेका छन् । जुन विगतमा भएका थिएनन् ।
१. पाकिस्तानमा अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेर नयाँ व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकेका छैनन् । शक्ति संघर्षका कारण हरेक पटक प्रधानमन्त्री कार्यकाल नै पूरा नगरी हट्नु पर्ने, जेल जानुपर्ने अवस्था हालसम्म कायम छ ।

सैनिक विद्रोहको लामो इतिहास रहिआएको छ । सन् १९७० मा पहिलो पटक आमचुनाव भएको थियो । पाकिस्तानको इतिहासमा निर्वाचित सरकारले गैरसैनिक सरकारलाई सत्ता सुम्पेकोपनि बिरलै पाइन्छ । जुन यसपटक पनि हुँदैछ ।

२. तीन पटक प्रधानमन्त्री भइसकेका एक नेता चुनावमा लड्न पाउने छैनन् । ती हुन् नवाज शरिफ । उनलाई केही दिन पहिले मात्रै भ्रष्टाचारको आरोपमा जेल हालिएको छ ।

उनलाई १० वर्षको जेल सजाय तोकिएको छ । शरिफले भने आफूलाई राजनीतिक रुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको बताएका छन् ।

३. यसपटकको निर्वाचनमा ठूलो संख्यामा उग्र दक्षिणपन्थी र कट्टर विचारधाराका उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका छन् ।

आसन्न चुनाव यो अर्थमापनि महत्वपूर्ण छ कि विगतका तुलनामा बढी महिला उम्मेदवार मैदानमा खडा भएका छन् ।

४. संसद्को २७२ सीटमध्ये देशभरिबाट १७१ जना महिला चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कानून अनुसार कुनैपनि निर्वाचन क्षेत्रमा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार भए चुनावी प्रक्रिया रद्द हुने व्यवस्था छ ।

५. यो पटकको चुनावमा पाँच जना तेस्रो लिङ्गी उम्मेदवारलेपनि निर्वाचनमा लड्ने घोषणा गरेका छन् ।

पाकिस्तानमा तेस्रो लिङ्गीहरू अल्पसंख्यक समुदायभित्र पर्छन् । पहिलो पटक सन् २०१३ मा उनीहरूलाई निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । चुनावी पर्यवेक्षणमा समेत उनीहरुलाई सहभागी गराइदैछ ।

(बिबिसी तथा पाकिस्तानी सञ्चार माध्यमको सहयोगमा)


क्लिकमान्डु