निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्कमा १७ प्रतिशत बृद्धि भएको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीले नियामक निकाय बिमा समितिलाई बुझाएको विवरण अनुसार बीमा शुल्क २२ अर्ब १९ करोड आर्जन भएको देखिएको हो । यसमा नयाँ लाइसेन्स पाएका ३ वटा निर्जीवन बीमा कम्पनीको तथ्यांक जोडिएको छैन ।

निर्जीवन बीमा कम्पनीमा ३ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनी एउटा मात्र शिखर रहेको छ । ९ वटा बीमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्बभन्दा बढी छ । १ अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा ७ वटा कम्पनी रहेका छन् ।

बीमा समितिमा बुझाएको प्रतिवेदन अनुसार सबैभन्दा बढी बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेको विवरण बीमा समितिलाई बुझाएको छ ।

पुँजी बीमा शुल्क तथा नाफाको आधारमा निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे यो सफलता कर्मचारी तथा कम्पनीलाई विश्वास गर्ने ग्राहकको बाट पाएको बताउँछन् ।

‘काम गर्नको लागि कठिन थियो,तरपनि हामीले एउटा सफलता प्राप्त गरेका छौ,’पाण्डेले क्लिकमाण्डूसँग भने ।

अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको सिदार्थ इन्स्योरेन्सलाई गत आर्थिक वर्ष २०७४÷७५ मा भने सगरमाथा इन्स्योरेन्सले जितेको छ ।

बीमा समितिमा बुझाएको रिपोर्ट अनुसार सगरमाथा इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सिदार्थ इन्स्योरेन्सले १ अर्ब ८० करोडले बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

नेको इन्स्योरेन्स १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेर चौथो स्थानमा रहेको छ । प्रिमियरले १ अर्ब ५५ करोड,एनएलजीले १ अर्ब ५० करोड तथा प्रुडेन्सियलले १ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

हिमालयन इन्स्योरेन्सले १ अर्ब ३१ करोड बीमा शुल्क आर्जन गरेको विवरण दिएको छ । लुम्बिनीले १ अर्ब २३ करोड बीमा शुल्क आर्जन गरेको छ ।

एनबीबाट ब्राण्ड नेम परिवर्तन गरेर आइएमई जनरल इन्स्योरेन्सपनि पहिलो पटक बीमा शुल्क आर्जनमा अर्बपति क्लबमा प्रवेश गरेको । आइएमई जनरले १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले ५ करोड रुपैयाँ कम बीमा शुल्क आर्जन गर्दा अर्बपति क्लबमा प्रवेश गर्न सकेन । प्रभुले ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको विवरण दिएको छ ।

सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । देशकै सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले ९० करोड बीमा शुल्क आर्जन गरेको छ ।

विदेशी कम्पनीका शाखाको रुपमा संचालन रहेका नेशनले ८६ करोड तथा ओरियन्टलले ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कुनैबेलाको पहिलो स्थानमा रहेर बीमा शुल्क आर्जन गर्ने एभरेष्टले ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्तिम स्थानमा रहेको युनाइटेडले ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु