ललितपुर महानगरपालिकाले ल्यायो चार अर्ब ६० करोडको बजेट



ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५\७६ का लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरे ।

महानगरपालिकाको चालू प्रशासनिक खर्च एक अर्ब छ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता ३० करोड र पूँजीगत कार्यक्रम खर्च दुई अर्ब ४० करोड आठ लाख ३७ हजार अनुमान गरिएको छ ।

वैदेशिक अनुदान कार्यक्रममार्फत रु ८२ करोड १४ लाख ५० हजार र सडक बोर्डमार्फत रु दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

आगामी आवको प्रस्तावित आयमा रु ९२ करोड ७८ लाख २० प्रतिशत संघीय सरकार र प्रदेश सरकारबाट अनुमानित आय विनियोजन गरिएको छ ।

आन्तरिक स्रोतबाट एक अर्ब ७७ करोड ५४ लाख र वैदेशिक अनुदानतर्फ ८२ करोड १४ लाख ५० हजार अनुमान गरिएको छ । सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता, राजश्व बाँडफाँड, मौज्दात रकम र अन्य विविध आय महानगरपालिकाले अनुमान गरेर बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले विकासले गति लिन नसक्दा जनतामा निराशा हुन सक्ने बताए ।

प्रदेशसभा सांसद माधव पौडेलले आकर्षक नारा र कार्यक्रम सफल हुने वा नहुने भन्ने त्यसका लागि कति बजेट छुट्याएको छ भन्नेमा निर्भर हुने बताए ।

बजेट सार्वजनिक गर्दै महर्जनले पहिलो एक वर्ष महानगरलाई समृद्ध, सुशासित र सुविधायुक्त बनाउन लागिपरेको बताए । प्रदेशको कानून निर्माणमा भइरहेको ढिलाइले आवश्यक कानून निर्माणको बाटो नखुलेको उनले बताए ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले महानगरपालिकाका कार्यक्रम २९ वटै वडामा पुग्ने बताइनु । उनले भनिन्, “यी सबै वडाले महसुस गर्ने गरी विकास गर्नु अहिलेको आवश्यकता हो ।” रासस


क्लिकमान्डु