मौद्रिक नीतिको सहयोगले १९ सयकै बिन्दुमा पुग्यो नेप्से ! फेरि पनि किन घट्यो बजार ?



काठमाडौं । २०७३ साउन १२ गते नेप्से परिसुचक १८८१.४५ बिन्दुमा पुग्यो । यो नेप्से परिसुचकले अहिलेसम्म छोएको उच्चतम बिन्दु हो । आज (२०७५ असार २८ गते) नेप्से परिसुचक ११९१.९८ बिन्दुमा छ ।

२०७३ साउन १२ गतेको तुलनामा २०७५ असार २८ गते नेप्से परिसुचक ६८९.४७ अंकले घटेको छ । अर्थात आजको दिनको नेप्से उच्चतम बिन्दुमा पुगेको दिनको भन्दा ३६.६५ प्रतिशतले कम छ ।

यसको सोझो अर्थ २०७३ साउन १२ गते तपाइसँग भएको सेयरको मूल्य जति थियो आज सो मूल्य औसतमा ३६.६५ प्रतिशतले कम भयो भन्ने पनि हो ।

अब यसलाई सेयरधितो कर्जासँग जोडेर हेरौं । नेप्से परिसुचक उच्चतम बिन्दुमा पुगको दिन तपाइले ऋण लिनको लागि जति कित्ता सेयर धितो राख्नुभएको थियो, औसतमा सो धितो अहिले ३६.६५ प्रतिशतले पुगेन भन्ने पनि हो ।

अहिले सेयर लगानीकर्ताको समस्या वा टाउको दुखाइको विषय नै यही थियो । अर्थात नेप्से उच्चतम बिन्दुमा पुगेको दिन तपाइले १०० कित्ता सेयर धितो राखेर १० हजार रुपैयाँ ऋण लिनु भएको थियो भने अहिले तपाइले औसतमा कि त ३७ कित्ता सेयर थप धितो दिनु पर्यो । होइन भने तपाइले ३६ सय ६५ रुपैयाँ ऋण घटाउनु पर्यो ।

यसैलाई सेयर धितो कर्जाको मार्जिन कल भनिन्छ । अर्थात हिजो तपाइले १०० कित्ता सेयर धितो राखेर लिएको १० हजार रुपैयाँ ऋणमा बैंक तथा वित्तीय संस्थाले तपाइलाई फोन गरेर औसतमा ३७ कित्ता सेयर थप धितो दिनुस् वा ३६६५ रुपैयाँ ऋण घटाउनुस् भनेर गर्ने फोन नै मार्जिन कल हो ।

अहिले सेयर बजार घटिरहेको छ । माथि नै हामीले औसतमा सेयर मूल्य ३६.६५ प्रतिशतले घट्यो भनेर उल्लेख गरिसकेका छौं । यस्तो बेलामा धितोको लागि बैंक तथा वित्तीय संस्थाले फोन गर्दा थप धितो दिने सेयर छैन र ऋण घटाउनको लागि दिने पैसा पनि छैन भने लगानीकर्ताले सस्तोमा भएपनि सेयर बेचेर ऋण तिर्नुपर्ने समस्या आयो भन्ने अहिलेको गुनासो हो । यसैकारण सेयर बजार घटेको भन्ने तर्क पनि सुनिएको छ ।

१८८१.४५ बिन्दुमा नेप्से पुगेको दिन किनेको सेयर तपाइले धितोको रुपमा बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिनु भएको छ भने अहिले पनि तपाइको सेयरको मूल्यांकन अब घटेन । अर्थात मार्जिन कल आउने वाला छैन ।

अर्थशास्त्रमा कुनै नीति वा सिद्धान्तको ब्याख्या गर्दा ‘अन्य कुराहरु यथावत रहेमा’ भन्ने वाक्यांश प्रयोग हुन्छ । ‘अन्य कुराहरु यथावत रहेमा’ यदि मार्जिन कलकै कारण सेयर बजार घटेको हो भने मौद्रिक नीतिले तपाइलाई ठूलो राहत दिएको छ । अर्थात १८८१.४५ बिन्दुमा नेप्से पुगेको दिन किनेको सेयर तपाइले धितोको रुपमा बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिनु भएको छ भने अहिले पनि तपाइको सेयरको मूल्यांकन अब घटेन । अर्थात मार्जिन कल आउने वाला छैन ।

किनभने तपाइलाई गत बर्ष तपाइलाई ग्लोबल आइएमइ लघुवित्तले २१ प्रतिशत, सिभिल क्यापिटलले ५ प्रतिशत, मेरो माइक्रो फाइनान्सले ४२ प्रतिशत, एनआइसी एशिया बैंकले २१ प्रतिशत, एनएमबी माइक्रो फाइनान्सले २६ प्रतिशत, फस्ट माइक्रो फाइनान्सले १६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले १७ प्रतिशत र नविल बैंकले ४८ प्रतिशत डिभिडेन्ड दिएका छन् ।

यस्तै देबः विकास बैंकले १८ प्रतिशत, युनिलिभरले १२७० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत, सानिमा बैंकले १६ प्रतिशत, एनबी बैंकले १६ प्रतिशत, ग्लोबल आइएमइ बैंकले २० प्रतिशत, सनराइज बैंकले १५ प्रतिशत, प्रभु इन्स्योरेन्स कम्पनीले २० प्रतिशत, कैलाश विकास बैंकले १९ प्रतिशत र सिद्धार्थ इन्स्यारेन्सले २१ प्रतिशत डिभिडेण्ड दिएको छ ।

यस्तै सोल्टी होटलले २१ प्रतिशत, लक्ष्मी बैंकले ११ प्रतिशत, माछापुच्छ्रे बैंकले १५ प्रतिशत, एसबीआइ बैंकले १६ प्रतिशत, शिखर इन्स्यारेन्सले ३१ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, एभरेष्ट बैंकले ३५ प्रतिशत र हिमालयन डिष्टिलरीले २१ प्रतिशत डिभिडेन्ड दिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १०५ प्रतिशत डिभिडेन्ड दिएको छ ।

तपाइले २०७३ साउन १२ गते (नेप्से परिसुचक १८८१.४५ बिन्दुमा पुगेको दिन) किनेको सेयरमा औसतमा १६.६५ प्रतिशतले घाटा लागेको छ ।

सुचिकृत संस्थाले गत आर्थिक बर्षमा औसतमा २० प्रतिशत डिभिडेण्ड दिएका छन् । तर, सेयरको मूल्य औसतमा ३६.६५ प्रतिशतले घटेको छ । यसको अर्थ तपाइले २०७३ साउन १२ गते (नेप्से परिसुचक १८८१.४५ बिन्दुमा पुगेको दिन) किनेको सेयरमा औसतमा १६.६५ प्रतिशतले घाटा लागेको छ । किनभने तपाइले डिभिडेन्डको रुपमा बोनस सेयर प्राप्त गर्नुभएको थियो भने त्यो सेयर मार्जिन कर्जामा धितो थप गरिदिन मिल्यो । नगद लाभांश पाउनु भएको थियो भने त्यो पैसा तपाइले पाउनु भएकै छ ।

अब मौद्रिक नीतिले प्रदान गरेको राहतको कुरा गरौं । आगामी आर्थिक बर्षको लागि ल्याइएको मौद्रिक नीतिमा सेयरको मूल्य २० प्रतिशतले घटेपनि मार्जिन कल गर्न नपाइने भनिएको छ ।

गत बर्षको डिभिडेण्ट प्राप्त भएपछि पनि तपाइलाई १६.६५ प्रतिशत नोक्सानी थियो । यसो हुदा सेयर धितो राखेर ऋण लिइ लगानी गर्ने लगानीकर्तालाई मार्का पर्यो भन्ने महसुस राष्ट्र बैंकले गरेको देखिन्छ । यसैको लागि राष्ट्र बैंकले तपाइलाई १६.६५ प्रतिशतको नोक्सानीमा २० प्रतिशतको नीतिगत सुविधा दियो । त्यसकारण नेप्से उच्चतम बिन्दुमा पुगेको दिन सेयर किनेका लगानीकर्ताले धितो राखेर ऋण लिएका भएपनि अहिले ३.३५ प्रतिशत फाइदा पाउने अबस्था आयो ।

राष्ट्र बैंकले तपाइलाई १६.६५ प्रतिशतको नोक्सानीमा २० प्रतिशतको नीतिगत सुविधा दियो । त्यसकारण नेप्से उच्चतम बिन्दुमा पुगेको दिन सेयर किनेका लगानीकर्ताले धितो राखेर ऋण लिएका भएपनि अहिले ३.३५ प्रतिशत फाइदा पाउने अबस्था आयो ।

यो त हिजोको दिनमा महंगोका सेयर किनेर ऋण लिनेहरुका लागि सुविधा भयो, नयाँ लगानीकर्ताको लागि सुविधा भएन भन्ने तपाइलाई लाग्न सक्छ । तर, हिजो महंगोमा सेयर किनेकाहरु अहिले समस्या छन् । आजको दिनमा तपाइ सेयर किन्न जादै हुनुहुन्छ भने त सस्तोमा पाउनु भएकै छ ।

फेरि किन घट्यो त बजार ?
मौद्रिक नीति आएको भोलिपल्ट नेप्से परिसुचक १३.६६ अंकले घट्यो । मौद्रिक नीतिले यस्तो सुविधा दिदा पनि नेप्से किन घट्यो त भन्ने प्रश्न उठ्न सक्छ । यहाँ हामीले मार्जिन कलको कुरा गर्दा ‘अन्य कुराहरु यथावत रहेमा’ भनेका थियौं । ती अन्य कुराहरु यथावत रहेनन् ।

यसका दुइटा कारण छन् । पहिलो कारण अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारलाई अनुत्पादक भन्दै हिडेका छन् । सेयर बजारमा कर जस्तो संबेदनशील बिषयलाई प्रयोगको बिषय बनाएका छन् । राष्ट्र बैंक भनेको सरकारको एउटा निकाय मात्रै हो । अर्थमन्त्रालय राष्ट्र बैंकको पनि नियामक हो । त्यसैले अर्थमन्त्रीको कारण लगानीकर्ता अझै त्रासमै रहेका हुन सक्छन् ।

मार्जिन कलको कुरा गर्दा ‘अन्य कुराहरु यथावत रहेमा’ भनेका थियौं । ती अन्य कुराहरु यथावत रहेनन् ।

दोस्रो कारण लगानीकर्ताले मार्जिन कर्जाको सीमा अहिलेको ५० प्रतिशतबाट बढाएर ६० वा ६५ प्रतिशत पुर्याइदिन आग्रह गरेका थिए । राष्ट्र बैंकले अहिले दिएको सुविधा लगानीकर्ताले मागेको भन्दा बढी हो । तर, साग र भात खान मन लागेको बेलामा कसैले दुध र भात दियो भने मन खिन्न हुन सक्छ भन्ने सिद्धान्त यहाँ लागू भएको हुन सक्छ । अर्थात अपेक्षा गरिएको भन्दा बेग्लै कुरा प्राप्त भए त्यो बढी नै भए पनि स्वीकार्य हुदैन भन्ने बिषय लागू भएको हुन सक्छ ।

सेयर बजारप्रति नकारात्मक सरकार भएको बेलामा राष्ट्र बैंक एक्लैले धेरै गर्न सक्ने अबस्था हुदैन ।

सेयर बजारप्रति नकारात्मक सरकार भएको बेलामा राष्ट्र बैंक एक्लैले धेरै गर्न सक्ने अबस्था हुदैन । लगानीकर्तालाई मौद्रिक नीतिले अहिले जे सुविधा दिएको छ, यो सुविधा भनेको ११९१.९८ बिन्दुमा नेप्से परिसुचक भएको बेलामा करिब १९०० बिन्दुमा नेप्से पुगेको बेलामा लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्यांकन पाए सरह हो ।


क्लिकमान्डु