भक्तपुरमा पहिरोले घर भत्कायो, एकै परिवारका ३ को मृत्यु



काठमाण्डौ। अबिरल वर्षाका कारण देशभर कै जनजीवन प्रभावित भएको छ । देशको संघीय राजधानी काठमाण्डौ उपत्यका पनि प्रभावित भएको छ । उपत्यकाको भक्तपुर विशेष गरी प्रभावित भएको छ ।

पछिल्लो जानकारी अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

यता, हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न भएका छन् ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्रपनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहानैबाट अवरुद्ध भएको छ ।

वर्षा कै कारण भक्तपुर, काभ्रे, चितवन, मकवानपुर, कास्की लगायतका जिल्लामा सडकहरुमा पहिरो र डुबानका कारण सवारी साधन सञ्चालन समस्या भएको छ ।

काभ्रेको भञ्ज्याङ, कालढुंगा र माम्टीमा पनि लेदो माटोसहितको पहिरो झरेका कारण वीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको समाचार प्राप्त भएको छ ।

काभ्रेको बनेपास्थित पुण्यमती खोलामा आएको बाढीले राजमार्ग डुबेकाले पनि सवारी आवागमन प्रभावित भएको छ । काभ्रेको मंगलटारमा पहिरो पन्छाएपछि एकतर्फी गाडी चलाइएको छ ।


क्लिकमान्डु