बामपन्थी सरकारको निर्णयः उद्योग संचालनदेखि पेट्रोलियम ढुवानीको जिम्मा सेनालाई




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले उद्योग संचालनदेखि पेट्रोलियम पदार्थ ढुवानीसम्मको जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

सरकारले हेटौडा कपडा उद्योग संचालन र पेट्रोलियम पदार्थको ढुवानीको जिम्मा नेपाली सेनालाई दिन लागेको हो । यसको लागि उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादबले नेपाली सेनाका अधिकारीसँग छलफल समेत गरेका छन् ।

सोमबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री यादब सहित सचिब यामकुमारी खतिवडा र नेपाली सेनाका कायम मुकायम प्रधान सेनापति पूर्णचन्द थापाबीच यस बिषयमा छलफल भएको छ । मन्त्रालयका अनुसार यी दुबै कामको लागि कार्यदल गठन गरेर १५ दिन भित्रमा मन्त्री यादब समक्ष प्रतिबेदन पेश गर्ने निर्णय पनि भएको छ ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको सभाकक्षमा उहाँकै संयोजकत्वमा नेपाली सेनाका कायममुकायम प्रधान सेनापति पूर्णचन्द्र थापा, उद्योग सचिव यामकुमारी खतिवडा, मन्त्रीज्यूका अवैतनिक सल्लाहकारहरु, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराई समेतको सहभागितामा बैठक बसी हेटौंडा कपडा उद्योगको संचालन तथा पेट्रोलियम पदार्थको ढुवानी सम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ,’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।

छलफलमा हेटौंडा कपडा उद्योगकोे सञ्चालन सम्वन्धमा नेपाली सेनाको क्षेत्रबाट मेकानिकल, मार्केटिङ्ग र टेक्सटाईल सम्वन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरका कर्मचारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल ईन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मनोनित एकजना मेकानिकल ईन्जिनियर समेत जम्मा ७ जना सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको हो । सो कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नुपर्ने भनिएको छ ।

कार्यदललाई विभिन्न कार्यशर्त (टीओआर) पनि तोकिएको छ । जसमा उद्योगको मिल मेशिनरी र पूर्वाधारको अवस्था, उद्योग संचालनको मोडालिटी, लगानीको मोडालिटी, हाल उद्योगको आर्थिक प्राविधिक तथा कानूनी लगायत अन्य पक्ष र उद्योग संचालन लागत विषयमा प्रष्ट पार्न भनिएको छ ।

त्यसैगरी नेपाली सेनाको कल्याणकारी कोष मार्पmत पेट्रोलियम ढुवानी गर्ने ट्याङ्कर खरिद गरी नेपाल आयल निगमको करारमा राखी सञ्चालन गर्न नेपाली सेनाले आवश्यक प्रकृया अगाडी बढाउने निर्णय समेत गरिएको मन्त्री यादबका स्वकीय सचिब सन्तोष बिष्टले जानकारी दिए ।


क्लिकमान्डु