मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति हुँदैन : अध्यक्ष बाँस्कोटा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. धर्मकान्त बाँस्कोटाले पूर्वाधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति नहुने स्पष्ट पारेका छन् ।
उनले भने,‘कति वर्षसम्म सम्बन्धन दिने वा नदिने भन्ने कुरा प्रधान होईन, काउन्सिलको दायित्व भनेको मापदण्ड हेर्ने हो, हामीले त क्वालिटी र पूर्वाधार हेर्ने हो, कसले पूर्वाधार लगायतका आवश्यक मापदण्ड पूरा गरेका छन् त्यो कुरा हेर्नुपर्छ, यदि ती कुराहरु पूरा भएका छन् भने सम्बन्धन दिँदा हामीलाई आपत्ति हुँदैन ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष बाँस्कोटाले भने,‘नेपालमा पहिलो निजी मेडिकल कलेज मणिपाल मेडिकल कलेजलाई सम्बन्धन दिँदा उससँग आफ्नो अस्पताल नै थिएन, पूरा क्राईट–एरिया नै पूरा नगरी सम्बन्ध दिईयो, आवश्यक मापदण्ड पूरा नगर्दा विकृति तथा विसंगतिहरु भित्रियो, नेपालमा पूर्वाधार नै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्ध दिने गलत प्रवृत्तिको सुरुवात भयो, पहिला सम्बन्धन दिईयो, पछि कलेजहरुले विद्यार्थीहरुसँग पैसा लिएर नै पूर्वाधार खडा गरेका हुन् ।’
कार्यक्रममा नेकपाका नेता एवम् पूर्वमन्त्री डा. वंशिधर मिश्रले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नदिने माँग अहिलेको सन्दर्भमा औचित्य र वाहियता रहेको जिकिर गरेका छन् ।
उनले भने,‘काठमाडौंमा मेडिकल कलेज खोल्नै हुँदैन भन्ने कुरा औचित्यहीन छ, यो भन्दा औचित्यहीन अर्को कुरा हुनै सक्दैन् ।’ अहिलेको परिवर्तित अवस्थामा अनशनरत डाक्टर गोविन्द केसीले पनि हठ छोड्नुपर्ने उनको सुझाव छ ।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ ।’
देशका दुरदराजमा गंगालाल, वीर, टिचिङ अस्पतालका सेवा पुर्याउने माग गलत हो र ? भन्दै उनले प्रश्न समेत तेर्साए ।