भरतपुरको क्यान्सर अस्पतालमा ३ सय शैया थप गरिने, ७० करोडको लागतमा नयाँ भवन निर्माण



चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने भएको छ ।

अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शैया गरी ४९४ शैया पुर्याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शैया प्रयोगमा ल्याइने तयारी गरिएको हो । उनका अनुसार विसं २०५७ मा १०० शैयाबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शय्या थपिएको थियो ।

अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आउनुभएका रमेश पाण्डेका अनुसार सो भवन एक लाख ३० हजार स्क्वायर फिटको छ । विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै ७० करोडको लागतमा निर्माण गरिएको हो ।

भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जनाएको छ ।

सो भवनको भुईतलामा दुई हजार २०० स्क्वायर फिटको खाली ठाउँसमेत छ । भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताए । अस्पतालमा शय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो ।

अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका नौवटै विभागका आवश्यकअनुसार शय्या विस्तार हुने भएका छन् । कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ । रासस


क्लिकमान्डु