मुग्लिङ सडकमा पहिरो, महोत्तरीमा आवागमन प्रभावित, कालिकोटका तीन गाउँ पहिरोको जोखिममा
काठमाण्डौ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आजपनि अबरुद्ध रहेको छ । उता, बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ । यसैगरी वर्षाले गर्दा कालीकोट जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका समाचार प्राप्त भएको छ ।
मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।
अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।
पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध
बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ ।
दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको हो ।
गत आइतबारदेखि जिल्लामा निरन्तर परेको पानीले जंघा नदीमा ठूलो बाढी आएर पुलमुनिको माटो बगाउँदा गौशाला औरही बाटोमा चार चक्के सवारी र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए ।
तर सो पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्रु आवागमनमा कुनै पनि रोक नलगाइएको र सर्वसाधारण निर्वाधरुपमा आउजाउ गरिरहेको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।
कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा
कालीकोट जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् ।
वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ ।
लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताए । रासस