विभिन्न स्थानमा भएका दुर्घटनामा ६ को मृत्यु, ३ घाइते




काठमाण्डौ । रसुवा, सप्तरी, सिरहा र कैलालीमा भएका विभिन्न दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रसुवा र सप्तरी भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो भने सिरहा र कैलालीमा डुबेर ३ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

विभिन्न स्थानमा भएका घटना यस्ता छन् :

सवारी दुर्घटनामा दुईको मृत्यु
उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।

सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् । उनीहरुलाई उपचारार्थ काठमाडाँै पठाइएको छ ।

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नंको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नं को मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी स्थानीय अरबिनकुमार यादव गम्भीर घाइते भएका र उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनरुपले जनाएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु
यसैगरी, पानी जमेको खाल्डोमा डुबेर सिरहाको विष्णुपुर गाउँपालिका–१, खोरिया टोलमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जिनिस यादवको दुई वर्षीय छोरा आशिषकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, विष्णुपुरले जनाएको छ ।

नदीमा डुबेर दुई बालकको मृत्यु
कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पु¥याइएको बताइएको छ । रासस


क्लिकमान्डु