वर्षाले देशभरी कै जनजीवन प्रभावित, कहाँ कहाँ के के भयो ?




काठमाण्डौ । आइतबार राति देखिको वर्षाले केन्द्रीय राजधान काठमाण्डौ उपत्यका सहित देशभरी कै जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशमा विभिन्न स्थानमा दुर्घटनाका खबरहरु आइरहेका छन् । नारायणगढ–मुग्लिन सडक अबरुद्ध छ भने चितवनमा भरतपुर, माडी, ठोरी हुलाकी सडकमा पनि आवागमन बन्द भएको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको समाचार प्राप्त भएको छ ।

यसैगरी, आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएपछि स्थानीय प्रशासनले स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । उता, बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएको खबर आएको छ ।
उता, दश कै आर्थिक राजधानी वीरगञ्जलाई पनि अबिरल वर्षाको पानीले असर गरेको छ, विभिन्न स्थानमा डुबानमा परेपछि आवागमनमा समस्या उत्पन्न भएको छ ।

अहिलेसम्म वर्षाले पारेको प्रभाव यस्तो छ :

बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध


सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।

दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

नारायणगढ मुग्लिन सडक अवरुद्ध


नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

वर्षाले नेपालगञ्ज जलमग्न, सर्तकता अपनाउन प्रशासनको आग्रह


आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।

पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।

वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकाअन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बताए ।

भारतले अन्तर्रा्ष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा हाइअलर्ट रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या


लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ ।

गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।

मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ ।

नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय महेन्द्र साहले बताए ।

अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

पुल भत्कँदा हुलाकी सडक अबरुद्ध


आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।

पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडी क्षेत्रमा रहेका खहरे खोला बढेपछि रिउ नदीको बहाव उच्च भएको बताए । नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको उनले जानकारी दिए ।

बाढीले बगाउँदा एकजना बेपत्ता


अविरल वर्षाले बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।

बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

वीरगञ्ज जलमग्न


रातिदेखि भइरहेको अविरल वर्षाका कारण पर्सा जिल्लाको वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा, आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएको छ ।

पहिरो जोखिमका कारण १७ परिवार बिस्थापित


अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकोटको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् ।

पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिए ।

उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो ।

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो ।

(राससको सहयोगमा)


क्लिकमान्डु