सञ्चारमन्त्री बास्कोटाको निर्देशन, उनले भने–नेपाल टेलिकम स्मार्ट हुनुपर्यो



काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण गरेका छन् ।

सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्छ’ भने । उनले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरुलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्जको पनि उद्घाटन गरेका थिए ।

सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।

उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले पनि ल्यान्डलाइन टेलिफोन सेवा मोबाइल सेवा भन्दा बढी भरपर्दो हुने भएकोले ल्यान्डलाइन सेवालाई थप विस्तार गरिदिन आग्रह गरे ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले अतिथिहरुको स्वागत गर्दै एक्सचेन्जको वारेमा जानकारी दिएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले पूर्वाञ्चाल क्षेत्र अन्तर्गतका दूरसञ्चार कार्यालय विर्तामोड, इटहरी र धरानको पनि निरीक्षण भ्रमण गरेका थिए ।

सो भ्रमणको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव प्रणवराज न्यौपाने, कम्पनीका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेल, प्रबन्धक देवेन्द्र खतिवडा, प्रबन्धक रामनरेश कुँवर र उप–प्रबन्धकहरु अनन्तप्रकाश मल्लिक र प्रेमप्रसाद सिलवाल लगायत सो क्षेत्रका कार्यालय प्रमुखहरु एवम् अन्य वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु