स्वास्थ्य चौकी बनाउन २ करोड सहयोग



म्याग्दी । बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराएका छन् ।

स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा दिन शुरु गरेको स्वास्थ्य चौकीलाई रघुनाथ भद्रकली स्मृति पात्लेखेत स्वास्थ्य चौकी नामाकरण गरिएको व्यवस्थापन समितिका सदस्य शिवबहादुर शाहीले जानकारी दिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवालमार्फत व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनलाई पराजुली र उहाँका छोरा रमेशले लालपूर्जा हस्तान्तरण गरेका हुन् ।

एक करोड पाँच लाख खर्च गरेर भवन निर्माण गरेका पराजुली परिवारले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । भवन निर्माणमा स्थानीयवासीले थप ३० लाख लगानी गरेको व्यवस्थापन समितिका सदस्य भरत रकालले बताए । भवन र जग्गाको व्यवस्था भएपछि सेवा प्रवाह सहज बनेको छ ।

यसअघि वडा र दीपक मावि परिसरमा रहेको पुरानो जीर्ण भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य चौकीबाट पात्लेखेत, वाखेतका अलावा, घतान, झिँ र पाखापानीका बासिन्दाले समेत सेवा लिँदै आएका छन् । शर्मा कन्ट्रक्सनका सञ्चालक रहनुभएका पराजुलीले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गरेका हुन् । रासस


क्लिकमान्डु