यस पटक इपिजीको बैठकले के निश्कर्ष देला ?



काठमाडौँ । नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को नवौँ बैठक आजदेखि शुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकले सम्भवतः हालसम्म भएका बैठकको प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै दिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो ।

हालसम्मका बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा छलफल भएको थियो ।

गठन कार्यादेशका आधारमा निष्कर्षमा पुगेर दुवै सरकारलाई सुझाव दिने समूहको जिम्मेवारी हो । त्यहीअनुसार सबै बैठकमा छलफल भइरहेको समूहले जनाएको छ ।

यही असार २० मा इपिजीको समय सीमा सकिँदैछ । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको थियो । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म पाँच बैठक नेपालमा र चार बैठक भारतमा भएका छन् ।

बैठकमा नेपाली समूहका संयोजक डा भेषबहादुर थापा, डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय सहभागी छन् । त्यस्तै, भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागी छन् ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएअनुसार समूह गठन भएको हो । रासस


क्लिकमान्डु