नेपालमा कृषि अनुसन्धान नीति छैन, यही कारण कृषि उत्पादन राम्रो हुन सकेन : गुरुङ



काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले नेपालमा कृषि नीति अहिलेसम्म तयार हुन नसकेको बताएका छन् । पन्धौं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कृषि अनुसन्धान नीति नहुँदा कृषि उत्पादनमा राम्रो विकास हुन नसकेको बताएका हुन् ।

नेपालमा वर्षेनी ३.४ मेट्रिक टन धान उत्पादन हुने भएपनि त्यो उत्पादन नेपाली जनसंख्यालाई पर्याप्त नभएको उनले बताए । २३ देखि २५ प्रतिशत बढी क्षेत्रमा सिचाईँको कुनै व्यवस्था नभएको जानकारी दिए ।

सिचाईँसँगै यान्त्रिक सामाग्रीको अभावले उत्पादनमा कमी आएको हुन सक्ने उनले बताए ।

यस्तै कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपाल कृषि अनुसन्धान परिषदलाई विश्व विद्यालयको रुपमा विकास गर्न भारतबाट सहयोग हुने प्रस्ताब राखिएको जानकारी गराए ।

सचिव जिसीले कृषि विकास मन्त्रालयले कृषकको सम्मानका लागि र कृषिलाई व्यवसायिक रुपमा लैजाने सन्दर्भमा धेरै किसानहरुलाई उत्कृष्टदेखि सर्वोत्कृष्टसम्मलाई देशव्यापी रुपमा छनोट गरी पुरस्कृत गर्न लागिएको बताए ।

यो वर्ष राष्ट्रपति पुरस्कारका लागि केरा खेतीमा कैलाली टीकापुर नगरपालिका वडा नम्बर १ का रामबहादुर कुवँर, माछा प्रजनन्मा धनुषाका बल्लाल मुखिया, च्याउ खेतीमा बाँके खजुरा गाउँपालिका वडा नम्बर २ अजुबहादुर सुनुवार, बाख्रा पालन बिधामा चितवन भरतपुर नगरपालिका वडा नम्बर २३ का योगेन्द्रबहादुर खड्का, गाई पालनको बिधामा गोर्खा पालुङटार नगरपालिका वडा नम्बर ७ का राजेन्द्र पन्तको नाम छनोट भएको उनले जानकारी दिए ।

किसान प्रतिनिधि लोकनाथ जमरकटेलले भने भारतबाट भित्रिने बिउ र बिषादीका कारण नेपाली खेतीमा रोग उत्पन्न गराएको बताए । उनले भारतबाट आयात हुने गरेका बिउले गर्दा नेपाली बिउले बजार नपाएको गुनासो गरे ।

यस्तै, अन्तराष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका भबप्रसाद त्रिपाठीले नेपालमा मोटो चामल पर्याप्त रुपमा उत्पादन हुने भएता पनि मसिनो चामल उत्पादनको बिउको कमीले भारतबाट आएका चामल भित्रिने गरेको बताए । उनले नेपालमा ७० प्रतिशत मोटो चामल उत्पादन हुने तर त्यसलाई भण्डारण गर्ने कुनै उचित व्यवस्था हुन नसकेको बताए ।


क्लिकमान्डु