खप्तडमा कहिले बल्ला बिजुली ?




अछाम । साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माणाधीन ५२ किलोवाट खप्तड लघुजलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, साँफेबगर नगरपालिका, खप्तडको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा काम अगाडि बढेको हो । साँफेबगर नगरपालिकाको ८ लाख, खप्तड वडा कार्यालयको ७ लाख र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको १ करोड १७ लाख ३० हजार बराबरको लागतमा काम भइरहेको छ ।

अहिले आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको र आगामी कात्तिक महिनासम्म बाँकी ४० प्रतिशत काम सकेर विद्युत् बाल्ने तयारी भइरहेको खप्तड लघुजलविद्युत् आयोजनाका सल्लाहकार संयोजक हस्तबहादुर कडायतले बताए

आयोजनाका लागि पावर हाउसको जेनेरेटर, टर्बाइन, ट्रान्सफमरलगायतका ठूला उपकरणहरु हेलिकेप्टरबाट ढुवानी भइरहेको आयोजना उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र कडायतले बताए । तर केही ठाउँमा विद्युत्को तार जमिन मुनिबाट लिनुपर्ने भएकाले वातावरणीय प्रभाव परीक्षण गर्नुपर्ने समस्या देखिएको छ । सामान ढुवानीमा खप्तडमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले पनि सहयोग गरिरहेको छ ।

खप्तडमा २०५६ सालमा निर्माण भएका दुई वटा योजना १३ किलोवाट क्षमताको आर्दोलीगाड प्रथम लघु जलविद्युत् योजना, तल्तुका १३ किलोवाट क्षमताको आर्दोलीगाड दोश्रो लघुजलविद्युत योजना, बलेल्तमा निर्माण भएका थिए । तर २०६३ साल भदौ १० गतेको बाढी पहिरोले दुवै योजनाका पावर हाउस, कुलोलगायतका सबै उपकरण बगाएको थियो । रासस


क्लिकमान्डु