काठमाण्डौ महानगर फुटपाथ व्यापारीप्रति कठोर बन्दै



 

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गर्नेलाई कडा कारबाही गर्ने भएको छ । पैदल यात्रीहरुको बाक्लो आवतजावत हुने ठाउँमा निर्वाध हिँड्ने वातावरण बनाउन महानगरले फुटपाथ अतिक्रमण गरेर व्यापार गर्नेलाई कार्वाही गर्ने बताएको हो ।

पैदल यात्रु हिड्ने स्थानमा व्यापार गर्नेको समान जफत गरिने नगर प्रहरी महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले बताए । यसअघि पनि महानगरले फुटपाथमा व्यापार गर्नेको सामान जफत गर्दै आएको थियो । तर, अब जफत गरिएको सामान फिर्ता नगरिने उनले बताए ।

पहिले पक्राउ परेका सामान जरिवाना तिराएर फिर्ता दिने गरिन्थ्यो । महानगरले जेठ ६ गते यता मात्रै २ सय ७८ जनालाई फुटपाथमा व्यापार गरिरहेको सामान सहित पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये १ सय ७८ जनाको सामान दर्ता गरिएको छ भने अन्य सय जना सामान दाबी गर्न नआएका कारण दर्ता नगरेको महानगरले बताएको छ ।

फुटपाथ अतिक्रमण गरेकोमा १ सय ५७ वटा ठूला ठेला गाडा र १ सय ६० वटा कपडा व्यापारीलाई पक्राउ गरिएको छ । १८ जनालाई अन्य बस्तुका साथमा पक्राउ गरिएको हो ।

यसरी जफत गरिएका सामान लिलामीमा पठाउने योजना महानगरले बनाएको छ ।


क्लिकमान्डु