अछामको कमलबजारमा वर्षामापन यन्त्र पुनः सञ्चालन



अछाम । अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।

बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने भएको छ । तत्कालीन अवस्थामा यूनिसेफ र नेपाल रेडक्रस सोसाइटी, अछाम शाखाको पहलमा नौलाखको लागतमा स्थापना गरिएको वर्षामापन केन्द्रमा रहेको सोलार प्यानल चोरी भएपछि अवरुद्ध भएको थियो ।

विशेषगरी अछाम क्षेत्र नम्बर २ र समग्रमा अछाम जिल्लाको तापक्रम मापन, वर्षा मापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हुँदा तथा नदीमा पानीको बहाव बढेर जोखिम अवस्था आउँदा यस यन्त्रले जिल्ला प्रशासन कार्यालयमा रहेको आपत्कालीन सञ्चारमार्फत साइरन बज्ने र सूचना दिने गर्दछ ।

वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप, बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुने नेपाल रेडक्रस सोसाइटी अछामका कार्यक्रम संयोजक खेमप्रसाद भट्टराईले बताए ।

यो वर्ष कमलबजार नगरपालिकाले चार लाख २६ हजार बजेट विनियोजन गरी सोलार प्यानल र अन्य व्यवस्थापनलाई प्रभावकारी बनाएपछि यन्त्र सुचारु भएको उनले जानकारी दिए । यसबाट वर्षायामको समयमा बाढीलगायत प्रकोप न्यूनीकरण गर्न र सचेतना अपनाउन सहज हुने जनाइएको छ । रासस


क्लिकमान्डु