अब ‘एसएमएस’बाटै नारायणगढ–मुग्लिन सडकको सूचना



 

रत्ननगर । नारायणगढमुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न ।

घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए ।

उनका अनुसार एसएमएसबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुनेछ । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।

यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एन एम टी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ ।

घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए । रासस


क्लिकमान्डु