काठमाडौं महानगरको बजेट १३ अर्बको, कहाँबाट जुटायो स्रोत ? कहाँकहाँ खर्च गर्छ ?



काठमाडौं महानगरले आर्थिक वर्ष २०७५/ ७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगरको बजेट सार्वजनिक गर्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ४ अर्ब ९० करोड २१ लाख ५७ हजार रुपैयाँ आन्तरीक श्रोतबाट जुटाउने र ५ अर्ब १९ करोड रुपैयाँ बाह्य श्रोतबाट जुटाउने बताईन । साथै १ अर्ब ४ करोड रुपैयाँ भने अन्य श्रोतबाट जुटाईने बजेटमा उल्लेख गरिएको छ ।

बजेट सार्वजनिक गर्दै महानगरले ‘हाम्रै पुस्तामा समृद्ध महानगर’ बनाउने यात्राको सुरुवात भएको बताएको छ ।

यस बाहेक ‘समृद्ध सुरक्षित र जीवन्त शहर ‘स्वच्द्ध र सुन्दर काठमाडौं महानगर’ बनाउने दिर्घकालिन योजनाका लागि बजेटले सहयोग गर्ने पनि महानगरले विश्वास व्यत्त गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा महानगरले विभिन्न ७ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

महानगरले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह वित्तीय व्यवस्थापन र सुशासन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

संम्पदा संरक्षणमा विशेष पहल

यस बाहेक महानगरले भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप र रानीपोखरी, दरबार हाई स्कुल लगायतका पूर्वाधार निर्माणका लागि ३ अर्ब ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले हनुमान ढोका स्वयम्भु पदमार्ग निर्माण तथा काठमाडौंमहानगरका ढुगेंधारा संरक्षणका लागि भनेर ५१ करोड ६७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रविधिमैत्री महानगर

महानगरले सार्वजनिक निजी साझेदारीमा मोनेरेल, इलेक्ट्रिेक बस, इ ट्वाईलेट, इ पार्किगं जस्ता प्रविधियुत्त संरचना पनि निर्माण गर्ने बताएको छ । महानगरले यसका लागि १५ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

३२ वटै वाडामा सूचना प्रविधिसंग जोडने, डिजिटल हस्ताक्षर तथा फ्रि वाईफाई लगायतका क्षेत्रमा पनि महानगरले बजेट विनियोजन गरेको छ ।

यस बाहेक महानगरले मनमोहन जेष्ठ नागरिक सम्मान कार्यक्रम र गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान लगायतका सामाजिक विकासका कार्यक्रमका लागि पनि ९६ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


पुष्प दुलाल